
सोलुखुम्बु, जेठ ११ । गत वैशाख २९ गतेदेखि सुरु भएको सगरमाथा आरोहणकाक्रममा अहिलेसम्म चार आरोहीको ज्यान गएको छ ।
यस मौसमको आरोहण सुरु भएको पहिलो हप्ता कसैले पनि ज्यान गुमाउनु नपर्दा आरोहणप्रति उत्साहित बनेका आरोही गत बिहीबार २५ वर्षीय फुर्वा शेर्पाको ज्यान गएपछि निरास बने ।
त्यसपछि अरु तीनजनाले ज्यान गुमाएर हालसम्म यो वर्ष सगरमाथामा ज्यान गुमाउनेको संख्या चार पुगेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नयाब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए ।
शुक्रबार ३६ वर्षीय डच एरिक अर्नाल्डको सगरमाथा चुचुराबाट फर्कनेक्रममा ज्यान गएको थियो भने शनिबार अस्ट्रेलियाको मोनास विश्वविद्यालयका प्रा. मारिया स्ट्रिडको चुचुरो पुग्नुअघि चौथो क्याम्पमा ज्यान गयो ।
यस्तै, आइतबार ४४ वर्षीय भारतीय सुवास पउलको दोस्रो शिविरमा नै ज्यान गएको प्रहरीको भनाइ छ ।
गएको दुई वर्ष सगरमाथामा ठूलो मानवीय क्षति हुँदा आरोहण अवरुद्ध थियो ।
सन् १९५३ मा तेन्जिङनोर्गे शेर्पा र एडमन्ड हिलारीले सगरमाथा आरोहण गरेपछि हालसम्म २०० भन्दा बढीले सगरमाथामा ज्यान गुमाइसकेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्