१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


चौंरीगाईको दूध बेचेर लखपति, घरमै मासिक दुई लाखसम्म आम्दानी


0
Shares

रमेश लम्साल/ज्ञानेन्द्र न्यौपाने (रासस)
रसुवा, जेठ ११ । चौंरीगाईको दूध बेचेर मासिक रु एक लाख ५० हजारसम्म कमाइ हुन्छ भन्ने कुरा धेरै मान्छेलाई पत्यार नलाग्न सक्छ । तर, रसुवाको गत्लाङका किसान चौंरीगाईको दूध बेचेर लखपति भएका छन् ।

चौंरीगाई नेपालको आफ्नै विशिष्ठ खालको गाई हो । हिमाली क्षेत्रको पठारमा चौंरीगाई पालिन्छ । हिमाली क्षेत्रका किसानले चौंरीगाईलाई आम्दानीको मुख्य स्रोत बनाएका छन् ।

हिमाली क्षेत्रको पहिचानकारुपमा पालिने चौंरीगाइले यहाँका किसानलाई आर्थिकरुपमा बलियोमात्रै बनाएको छैन, गाउँमा केही प्रगति हुँदैन भन्दै विदेशीने युवालाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने शिक्षा दिएको छ ।

गत्लाङका रामबहादुर तामाङले २० ओटा चौंरीगाई पालेका छन् भने ७ ओटाले दूध दिन्छन् । बिहान–बेलुका दुग्ध विकास संस्थानले खोलेको चिज उत्पादन केन्द्रमा दूध बिक्री गर्छन् ।

उनले चौंरीगाईको दूध बिक्री गरी घरमै मासिक रु एक लाख ५० हजारदेखि रु दुई लाखसम्म आम्दानी गरिरहेका छन् ।

‘साउनमा १३ ओटा चौंरीगाई ब्याउँछ, त्यसपछि अहिलेकोभन्दा आम्दानी बढ्छ’–उनले भने ।

तर, चौंरीगाईलाई खुवाउन दाना र नुनको तामाङलाई सधैं समस्या परिरहन्छ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा पानी न्यूनमात्रामा परेपछि यसपालि घाँसको पनि समस्या भएको छ ।

तामाङले भने–‘हामीजस्ता हिमाली भेगका किसानलाई सरकारले केही सहुलियतको व्यवस्था गर्नुपर्छ ।’

यस्तै, गत्लाङकै साइली तामाङसित पनि १६ ओटा चौंरीगाई छन् । तीमध्ये ६ ओटाले अहिले दूध दिन्छन् । घरमै बसेर मनग्य आम्दानी गर्ने गरेको उनको भनाइ छ ।

दुग्ध संस्थानले स्थापना गरेको चिज उत्पादन केन्द्रका कारण दूध बिक्री गर्न सहज भएको तामाङ बताउँछन् ।

‘चौंरीगाईले दूध दिने समयमा मासिक रु दुई लाखसम्म कमाइ हुन्छ’–उनले भने–‘सहरमा बस्नेलाईमात्रै होइन, हामीजस्ता किसानलाई पनि सरकारले हेर्नुपर्‍यो ।’

स्थानीय नुमा गेल्मु तामाङ चौंरीगाई नै आफूहरुको आर्थिक उपार्जनको आधार भएको बताउँछिन् ।

‘भूकम्पका कारण समस्यामा चिज उत्पादन केन्द्र’
चिज उत्पादन केन्द्रका धनबहादुर जिरेल साउन, भदौ, असोज, कात्तिक र मंसिरसम्म किसानले उल्लेख्यमात्रामा दूध ल्याउने गरेका कारण आफूहरुलाई चिज उत्पादन गर्न सहज भएको बताउँछन् ।

उनी भन्छन्–‘किसान अत्यन्तै उत्साहित छन्, चौंरीगाईपालन यहाँको परम्परागत् पेसा हो । यसलाई आधुनिकीकरण गरेर आर्थिक उर्पाजनमा लगाउनुपर्छ ।’

वार्षिक ९ हजार किलो चिज उत्पादन गर्ने केन्द्रले तीन हजार १०० किलो घीउ उत्पादन गर्छ ।

उत्पादन केन्द्रमा नै प्रतिकिलो रु एक हजार १०० मा बिक्री हुने चिजको बजार ठूलो रहेपनि मागअनुसार उत्पादन गर्न नसक्दा माग धान्न गाह्रो परेको जिरेलको भनाइ छ ।

केन्द्रमा उत्पादित चिज दुग्ध विकास संस्थानमा जाने गरेको छ ।

केन्द्रका अर्का कर्मचारी तेजबहादुर खड्का स्थानीय किसानको आम्दानीको स्रोतकारुपमा स्थापित केन्द्रलाई विस्तार गर्नसके अझै राम्रो हुने बताउँछन् ।

भदौ लागेपछि केन्द्रमा १५ जनाभन्दा बढी कर्मचारी रहने गरेको भएपनि हाल न्यूनमात्रामा चिज उत्पादन हुँदा चारजनामात्रै रहने गरेका छन् ।

केन्द्रले किसानलाई चौंरीगाई पाल्ने आधुनिक सीपसमेत सिकाएको छ । तर, गत वर्षको गोरखा भूकम्पका कारण भत्किएको केन्द्रको भवन पुनःनिर्माण गर्न हालसम्म पहल हुन सकेको छैन ।

वि.सं. २०३४ मा स्थापित सो चिज उत्पादन केन्द्रको आधुनिक भवन बनाउन सरकारले ध्यान दिनुपर्ने प्रमुख जिरेल बताउँछन् ।

भवनको अभावमा कर्मचारी सामान्य टहरामा बसेर रात काट्ने गरेका छन् ।

‘किसानले जता चौंरी लैजान्छन्, उतै कर्मचारी जाने गरेका छौं’–एक कर्मचारीले भने ।

तर, परम्परागत् चौंरीपालनलाई आधुनिकीकरण गर्दै चिज उत्पादन केन्द्रलाई सुविधा सम्पन्न बनाउन सके हिमाली क्षेत्रका किसानको मुहार अझै उज्यालो हुने देखिन्छ ।