७ असार २०८२, शनिबार | Sat Jun 21 2025


भारत पनि चिनियाँ रेलकै पर्खाइमा !


0
Shares

काठमाडौं, जेठ १२ । नेपाल र चीनबीच रेल यातायात संचालन हुने विषय यतिबेला यी दुई देशबीच मात्र नभई अन्तर्राष्ट्रिस्तरमै चर्चा पाइरहेको छ । हिमाली क्षेत्रको भौगोलिक विकटता चिर्दै चिनियाँ रेल नेपालसम्म आइपुगेको अवस्थामा त्यसले दीर्घकालिन रुपमा अन्तर्राष्ट्रिय व्यापारका सम्भावनाको ढोका फराकिलो तुल्याउने विश्लेषकहरु बताउँछन् ।

हालै चिनियाँ अखबार ‘ग्लोबल टाइम्स’ ले सन् २०२० सम्ममा चिनियाँ रेल नेपाल पुग्न सक्ने उल्लेख गरेपछि भारतमा समेत विभिन्न प्रकारका टिप्पणी हुन थालेका छन् । एकथरीले चिनियाँ रेल नेपाल आउनु भनेको नेपालमाथिको भारतको एकाधिकार समाप्त हुनु हो भन्दैछन् भने कतिपयले चिनियाँ रेल नेपाल आएको अवस्थामा सोही रेल संजाललाई भारतसम्म जोड्न चासो देखाउनुपर्नेमा जोड दिएका छन् ।

बुधबार केही भारतीय संचारमाध्यमले नेपाल हुँदै चिनियाँ रेल भारतको बिहारसम्म आइपुग्ने सम्भावनालाई औंल्याउँदै त्यसको फाइदा केलाएर प्रस्तुत गरेका छन् ।

भारतीय संचारमाध्यम ‘जी न्यूज’ ले आफ्नो रिपोर्टमा चिनियाँ रेल बिहारसम्म ल्याउँदा चिनियाँ सामान कोलकाता बन्दरगाहबाट बिहार ल्याउनु भन्दा छिटो र सस्तो पर्ने चिनियाँ संचारमाध्यमको दाबीलाई उद्धृत गरेको छ ।

चीन र भारतबीच ७० अर्ब डलरको व्यापार हुने गरेको उल्लेख गर्दै उक्त रिपोर्टमा चीन–नेपाल–भारत रेल सेवाले व्यापार अभिबृद्धि हुने उल्लेख गरिएको छ ।