Logo १० फाल्गुन २०८२, आइतबार | Mon Feb 23 2026


विदेश पठाउने भन्दै ७९ लाख ठग्ने पक्राउ


0
Shares

काठमाडौं, जेठ १३ । गैरकानुनीरुपमा युरो एन्ड सी लिंक एजुकेसन कन्सल्टेन्सी र फ्लाइ युरो नामक कन्सल्टेन्सी खोली रोजगारका लागी विदेश पठाउने प्रलोभन दिएर ठगी गर्ने रन्जीत कँडेललाई प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुर, नामाटार गाविस घर भइ हाल काठमाडौं, सतुंगल बस्ने कँडेललगायत अन्य व्यक्तिहरुले ‘जर्मनी पठाउँछु’ भनी १३ जना व्यक्तिबाट विभिन्न मितिमा रु ७९ लाख ३० हजार ठगी गरेकामा कँडेललाई महानगरीय अपराध महाशाखाको टोलीले बुधबार पक्राउ गरेको हो ।

रसुवाका खेसम तामाङसहित दुईजना, ‘दक्षिण अफ्रिका पठाउँछु’ भनी रसुवाकै संगीता तामाङसमेतका दुईजना, ‘मरिसस पठाउँछु’ भनी कन्चनपुर बस्ने लक्ष्मीप्रसाद बरालसमेत सातजना र ‘न्यूजिल्यान्ड पठाउँछु’ भनी काभ्रे महादेवस्थान गाविस बस्ने सुमन सापकोटासमेत दुईजना गरी १३ जनालाई कँडेल र उनको समूहले ठगी गरेको थियो ।

पैसा लिएर नक्कली भिसासमेत लगाइदिइ फरार रहेका कँडेललाई अपराध महाशाखाको टोलीले पक्राउ गरी आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।

अभियुक्त कँडेलसँग मिली विदेश पठाउने भनी ठगी गर्ने अन्य व्यक्तिहरुकोसमेत खोजी भइरहेको महाशाखाले जनाएको छ । रासस

Skip This