१ श्रावण २०८२, बिहिबार | Fri Jul 18 2025


विकास निर्माणमा कामभन्दा कुरा धेरै (भिडियो)


0
Shares

कविराज घिमिरे –
धनकुटा, जेठ १४ । निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत धनकुटामा चालु आर्थिक वर्षमा ४ करोड ४० लाख रुपैयाँ आएको छ ।

त्यसैअन्तर्गत जिल्लामा विभिन्न कार्यक्रम सञ्चालमा छन् । सरकारले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गतको रकम अझै बढाउने तयारी गरिरहेको छ । तर, धनकुटाका राजनीतिक दलका प्रतिनिधि र स्थानीयवासी भने त्यसको विरोधमा छन् ।

चालु आर्थिक वर्षमा मात्रै धनकुटामा निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत निर्वाचन क्षेत्र विषेश पुर्वाधार विकास कार्यक्रमको लागि तीन करोड र निर्वाचन क्षेत्र सांसद विकास कार्यक्रम अन्तर्गत प्रति सांसद २० लाखका दरले ७ जना सांसदको एक करोड ४० लाख गरी कुल चार करोड ४० लाख रुपैयाँ भित्रिएको छ । त्यसै रकम अन्तर्गत जिल्ला विकास समिति धनकुटाले खासगरी विकास निर्माण, आयमुलक, सिपमुलक, क्षमता विकास लगायतको क्षेत्रमा खर्च गरिंदै आएको धनकुटाका स्थानीय विकास अधिकारी गणेशप्रसाद दाहाल बताउँछन् ।

यस्तै थप कार्यक्रमलाई बढाएर लाने भन्दै सरकार यो रकमलाई अझै बढाउने तयारी गरिरहेको छ । तर, धनकुटाका राजनीनिक दलका प्रतिनिधि भने यो प्रथाको अन्त्य गरिनुपर्ने बताउँछन् । गाउँस्तरमा जनप्रतिनिधिविहीन भएको अवस्थामा यसले बिकृति बढाउने भन्दै ब्यक्ति गनेर रकम वितरण गरि गरिने विकासभन्दा पनि संस्थागत रुपमा विकास गर्ने परिपाटीलाई नै निरन्तरता दिनुपर्ने राजनीतिक दलका प्रतिनिधिको भनाइ छ ।

यता, सर्वसाधारणले पनि रकम बढाउने कुराको बिरोध नै गर्दै आएका छन् । यस्तो बजेट ब्यक्तिको निर्णयबाट चल्ने भएकाले पारदर्शी नहुने सर्वसाधारणको बुझाई छ ।

सरकारले जनताकै लागि भन्दै यसै कार्यक्रमका लागि वर्षेनि बजेट बढाउने गरेको छ । तर जनता तथा राजनीतिक दलका प्रतिनिधि भने यो प्रभावकारी बन्न नसकेको भन्दै यो कार्यक्रमको विरोध गर्दै आएका छन् । यस्तोमा सरकारले हचुवाको भरमा रकम थपिनुभन्दा पनि यसको प्रभावकारिताको अध्ययन गरेरमात्र निर्णय लिनु आवश्यक छ ।