१ श्रावण २०८२, बिहिबार | Fri Jul 18 2025


चितवनमा सांसद कोषको रकम कसले कहाँ खर्च गर्‍यो ? (भिडियो)


0
Shares

राजु चौधरी –
चितवन, जेठ १४ । सरकारले सांसदहरुलाई उपलब्ध गराएको रकम कतै सदुपयोग त कतै दुरुपयोग भएका खबर आईरहेका छन् । तर देशकै केन्द्र भागमा पर्ने चितवनमा भने सांसद विकास कोषको रकम भरपुर सदुपयोग भएको छ ।

संसद विकास कोषअन्तर्गतको बजेटले जिल्लाका विकास निर्माणका काम भइरहेका छन् । जिल्लाका सांसदले स्थानीयको आवश्यकताअनुसार रकम खर्च गर्दा विकास निर्माणका ढोका खुलेका छन् ।

जिल्ला विकास समितिमार्फत् भइरहेको विकासका कामले तीब्रता पाएको छ ।

जिल्ला समितिका सूचना अधिकृत बलराम लुईंटेलले सांसद विकास कोषको रकमका बारेमा ठाउँठाउँमा विवादित कुरा सुनिए पनि चितवनमा भने यो रकमको सही सदुपयोग भइरहेको बताए ।

संसद् विकास कोषअन्तर्गतको निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम र विकास कार्यक्रमअन्तर्गत अहिले जिल्लामा धमाधम विकास निर्माणका कामहरु भईरहेका छन् । चितवनका सांसदहरुले सडक, सिंचाई, ढल निर्माणलगायतलाई बढी प्राथमिकता दिएका छन् ।

प्रत्यक्ष निर्वाचित सांसदको डेढ करोड रकमबाट सडक, सिँचाईलगायतका ठूला योजनाका काम भएका छन् । कतिपय योजना पुरा भइसकेका छन् भने कतिपय निर्माणाधीन छन् । विकासको कामले तिब्रता लिएसँगै स्थानीय पनि खुसी देखिन्छन् ।

चितवनमा ७ लाखभन्दा माथिका ६७ वटा योजनामा रकम खर्च गरिएको छ । क्षेत्र नम्बर १ मा सांसद शेषनाथ अधिकारीले सांसद विकास कोषमा आएको रकम सिँचाईमा लगानी गरेका छन् भने क्षेत्र नं.४ का सांसद रामकृष्ण घिमिरेले सबै रकम सडक निर्माणमा खर्चिएका छन् । क्षेत्र नं. १ का सांसद सुरेन्द्र पाण्डेले सडक र अन्य विकास निर्माणका कार्यक्रमलाई समेटेका छन् भने क्षेत्र नं.३ मा कृष्णभक्त पोखरेलले भने सबै क्षेत्रलाई समेटेका छन् । क्षेत्र नं.५ का सांसद विक्रम पाण्डेले पनि सडकलाई प्राथमिकतामा राख्दै सबैखाले योजनालाई समेटेका छन् ।

जिल्लाका प्रत्यक्ष निर्वाचित ५ र समानुपातिका ११ सांसदले संसद विकास कोषको रकम परिचालन गरेका छन् । प्रत्यक्ष र समानुपतिक सांसदको गरी कुल १० करोड ७० लाख रुपैयाँका योजना हाल चालु अवस्थामा रहेको छ ।