
म्याग्दी, जेठ १४ । अर्मन गाविसका किसानले गहुँतको प्रयोग गर्न थालेपछि रोग किराको प्रकोप नियन्त्रण हुनुका साथै कृषि उत्पादनमा बृद्धि भएको छ ।
किसानले जैविक विषादीका रुपमा गहुँतको प्रयोग गर्न भकारो सुधार गरेर मूत्र सङ्कलन गर्ने गरेका छन् । सुधारिएको भकारोबाट सङ्कलित पशुको गहुँत तरकारी र खाद्यबालीमा लाग्ने रोग किरा नियन्त्रण गर्न प्रयोग गर्दैआएको कृषक तिलकुमारी आचार्यले बताइन् ।
गहुँतको प्रयोग गर्न थालेपछि विषादीका लागि गर्नुपर्ने आर्थिक लगानी बचत भएको छ । ‘बिषादीमा हुने लगानी घट्यो, उत्पादन पनि बढ्यो,’ कृषक गणेश आचार्यले भने ।
जिल्ला कृषि विकास कार्यालयद्वारा सञ्चालित दिगो भू–व्यवस्थापन कार्यक्रमको प्राविधिक सहयोगमा सो गाविसका कृषकले भकारो सुधार गरेका छन् ।
भकारोबाट सङ्कलित गहुँत बन्दागोभी, काउली, गोलभेँडा, साग, मुला, गाजर, आलुलगायत तरकारी तथा अन्नबालीमा प्रयोग गर्ने गरिएको छ । सन्तुलन मिलाएर नाइट्रोजनको मात्रा अत्यधिक हुने गहुँतको प्रयोगबाट २० देखि ४० प्रतिशतसम्म उत्पादन बढाउन सफल भएको कृषकले बताएका छन् ।
कृषि उत्पादन वृद्धि गर्न र अत्यधिक रासायनिक विषादीको विकल्पका रुपमा गाईबस्तुको मूत्र प्रयोग निकै उपयोगी बनेको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक श्याम क्षेत्री बताउँछन् ।
बेनी नगरपालिका, अर्मन, भकिम्ली, घतान, झिँ, पाखापानीलगायत जिल्लाका १३ वटा गाविसमा उक्त कार्यक्रम लागू भएको छ । भकारो सुधार गर्नका लागि दिगो व्यवस्थापन कार्यक्रमले किसानलाई आर्थिक र प्राविधिक सहयोग गर्दै आएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्