१ श्रावण २०८२, बिहिबार | Fri Jul 18 2025


सुदूरपश्चिममा खाद्य संकट


0
Shares

बैतडी, जेठ १४ । लगातारको खडेरीले सुदूरपश्चिममा खाद्य संकट हुने संकेत देखापरेको छ ।

धेरैजसो क्षेत्रमा किसानले हिउँदे बाली लगाउनै नपाएको र लगाएको ठाउँमासमेत यो वर्ष उत्पादनमा भारी गिरावट आएको क्षेत्रीय कृषि निर्देशनालय दिपायलले जनाएको छ ।

सुदूरपश्चिमका २१ नगरपालिका र ३२८ गाविसमध्ये २२३ गाविस बढी प्रभावित भएका क्षेत्रीय कृषि निर्देशनालयका कृषि प्रसार अधिकृत टेकबहादुर विष्टले जानकारी दिए ।

प्रभावित गाविसका एक लाख ३० हजार २०३ घरधुरी अत्यन्तै प्रभावित भएका छन् । ती परिवारको ५० हजार ७४ हेक्टर जमिनमा हिउँदेबालीको उत्पादन न्यून तथा रु एक अर्ब ४६ करोड बराबरको क्षति भएको छ ।

हिउँदेबालीअन्तर्गत् गहुँ, मसुरो, तोरीलगायतका बालीमा क्षति भएको हो । यो वर्ष गहुँको उत्पादन सुदूरपश्चिमका पहाडी जिल्लामा निकै कम भएको कार्यालयले जनाएको छ ।

गत वर्ष तीन लाख १५ हजार ९८६ मेट्रिकटन गहुँ उत्पादन भएको थियो भने यस वर्ष दुई लाख ७१ हजार २१ मेट्रिकटनमात्रै गहुँ उत्पादन भएको कृषि प्रसार अधिकृत विष्टले बताए ।

‘पहाडी क्षेत्रमा २४ देखि ५७ प्रतिशतले गहुँको उत्पादनमा कमी आएको छ’–उनले भने ।

हिउँदेबालीको उत्पादन कम भएसँगै पहाडी क्षेत्रमा यस वर्ष खाद्यान्न अभाव हुने बताइएको छ ।

लामो खडेरीका कारण हिउँदेबालीमा नोक्सानी हुँदा सुदूरपश्चिमका एक लाख ३० हजार बढी परिवार अर्थात् २८ प्रतिशत प्रभावित भएका क्षेत्रीय कृषि निर्देशनालयले जनाएको छ ।

तीन लाख सात हजार १६५ हेक्टरमा खेती गरिएकोमा ५० हजार ७४ हेक्टरमा लगाइएको बालीमा नोक्सानी पुगेको बताइएको छ ।

निर्देशनालयका वरिष्ठ योजना अधिकृत पशुपति पोखरेलकाअनुसार सुदूरपश्चिममा रु एक अर्ब ४६ करोड बराबरको खाद्यबालीमा क्षति पुगेको छ ।

सबैभन्दा बढी बैतडीमा १३ हजार २४१ हेक्टरमा लगाएको गहुँ तथा मुसुरोमा क्षति पुगेको छ ।

यस्तै, डडेल्धुरमा सात हजार ४६० हेक्टरमा लगाइएको हिउँदेबालीमा क्षति पुगेको छ ।

पर्याप्त पानी नपर्दा कृषि उत्पादनमा कमी आएपछि सुदूरपश्चिमका पहाडी जिल्लामा खाद्य संकट भएको हो ।

सुदूरपश्चिमको पहाडी सातओटा जिल्लामा ५४ प्रतिशतसम्म बालीमा नोक्सानी भएको छ । कैलाली र कन्चनपुरबाहेक ती जिल्ला कृषिमा आत्मनिर्भर छैनन् ।

यसपटकको लामो खडेरीले रु दुई अर्ब बराबरको क्षति भएकाले पहाडी जिल्लामा चरम खाद्य संकट निम्तिएको बताइएको छ । रासस

फाइल फोटो