
काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदैछ ।
ललितपुरको पुल्चोकबाट सांस्कृतिक बाजागाजाका साथ सुरु हुने रथयात्रा पाटनको गाः बहाल पुर्याइने छ ।
योसँगै टंगल टोलमा बनाइएको मीननाथको रथ पनि तानेर गाः बहाल पुर्याइने छ ।
शार्दूलजंगको पल्टनको टुकडी, धिमे, नायखीलगायत बाजा बजाएर रथ यात्रा सुरु हुन्छ । यसक्रममा मत्स्येन्द्रनाथको रथ गाः बहालबाट नुगः सुन्धारातर्फ तानिनेछ ।
मत्स्येन्द्रनाथलाई वैष्णवीले विष्णु, शैवले शिव, शाक्तले शक्ति, सौरले सूर्य, ब्राह्मणले लोकेश्वर र बौद्धले करुणामयका रूपमा पुज्ने गर्दछन् ।
रथलाई सुन्धाराबाट चक्रबही, टंगल हुँदै लगनखेल पुर्याइन्छ । त्यसपछि लगनखेलबाट थती टोल पुर्याइन्छ ।
भोलिपल्ट थती टोलमै रथको टुप्पोबाट नरिवल खसालिन्छ । नरिवल खसाल्ने दिनमा मत्स्येन्द्रनाथको देवाली दिन पनि तोकिन्छ ।
यसै दिन मंगलबजारको मणिमण्डपमा चार दिशाको चारै थाममा ४ ज्योतिष बसेर रथलाई थती टोलबाट जावलाखेलतर्फ तान्ने साइत हेरिन्छ ।
साइत नजुरेसम्म रथलाई थती टोलको चारदोबाटोमै राखिन्छ । साइत जुरेको दिन रथलाई जावलाखेल पुर्याइन्छ । रथ जावलाखेल पुगेको ४ दिनपछि भोटो जात्रा मनाइन्छ ।
भोटो जात्रा सकेपछि मत्स्येन्द्रनाथको रथलाई सानो खटमा बोकेर बुङ्मतीस्थित मन्दिरमा पुर्याइनेछ ।
मीननाथलाई टंगलस्थित चक्रबहिमा पुर्याएपछि पुल्चोकमा रथारोहण गरी सुरु भएको मत्स्येन्द्रनाथको रथ यात्रा समापन हुन्छ ।
प्रतिक्रिया दिनुहोस्