
काठमाडौं, जेठ १४ । नेपाल दाना उद्योग संघ एवं पशुपक्षी विकास मन्त्रालयअन्तर्गत्को पशुसेवा विभागले नियमितरुपमा कुखुराको मासु र अन्डा उपभोग गर्न अपिल गरेको छ ।
दाना उद्योग संघ र पशुसेवा विभागले शुक्रबार राजधानीमा संयुक्तरुपमा पत्रकार सम्मेलन गरी कुखुराको मासु र अन्डाको नियमित उपभोग गर्दा हुने फाइदाको विषयमा जानकारी गराएका हुन् ।
कार्यक्रममा संघका अध्यक्ष नारायण हरि खत्रीले कुखुराको मासु एवं अन्डा प्रशस्त प्रोटिनको स्रोत भएकाले कुपोषणको समस्या हटाउन नियमितरुपमा खानामा प्रयोग गर्न आग्रह गरे ।
उनले नेपालमा करिब ५ लाखले पोल्ट्री क्षेत्रबाट प्रत्यक्ष एवं अप्रत्यक्षरुपमा रोजगारी पाएको बताए ।
संघकाअनुसार सरदर ६५ अर्ब रुपैयाँको लगानी रहेको यस पोल्ट्री व्यवसायले वार्षिक ७५ अर्ब रुपैयाँभन्दा बढीको उत्पादन गरी नेपालको कुल गार्हस्थ उत्पादनमा करिव ३ दशमलव ५ प्रतिशत योगदान पुर्याएको छ ।
हाल नेपाल कुखुराको मासु र अन्डामा आत्मनिर्भर भइसकेको अवस्थामा यसलाई थप विकसित गर्नसके देशको अर्थतन्त्र, आम मानिसको स्वास्थ्य तथा रोजगारीको क्षेत्रमा टेवा मिल्ने संघको ठहर छ ।
प्रतिक्रिया दिनुहोस्