१ श्रावण २०८२, बिहिबार | Fri Jul 18 2025


सूचीकृत कम्पनीका विवरण सीधै नेप्सेको वेबसाइटमा


0
Shares

काठमाडौं, जेठ १४ । अब नेपाल स्टक एक्सचेन्जको वेबसाइटमा सूचीकृत कम्पनी स्वयंले सूचना, जानकारी तथा विवरणहरु नेप्सेको वेबसाइटमा राख्नसक्ने भएका छन् ।

नेप्सेले उक्त विवरणहरु राख्नसक्ने गरी नयाँ प्रणाली तयार गरेको हो ।

शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले यस प्रणालीको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा गभर्नर नेपालले सूचना प्रवाहलाई थप चुस्त बनाउन नेप्सेले थालेको प्रयासको प्रसंशा गरे ।

यस्तो प्रयासलाई अझै सुदृढ गराउँदै लैजानमा आफू विश्वस्त रहेको पनि उनले उल्लेख गरे ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले पूँजी बजारमा सूचना प्रवाहको अपरिहार्यतालाई नेप्सेले आत्मसात् गरेको बताए ।

कम्पनीबाट प्राप्त हुने सूचनाहरुलाई नेप्सेले रुजु गरी सर्वसाधारणमा पु¥याउने प्रणालीको विकासलाई भरपर्दो मान्नुपर्ने उनले जिकिर गरे ।

नेप्सेका अध्यक्ष रामजी रेग्मीले सूचना–प्रविधिको अधिकतम् उपयोग गर्दै जाने नेप्सेको प्रयासमा नयाँ पद्धति थप सहायक सिद्ध हुने विश्वास व्यक्त गरे ।

यसैगरी, नेप्सेका प्रमुख कार्यकारी अधिकृत सीताराम थपलियाले लगानीकर्तालाई छिटो र विश्वसनीय सूचना प्रदान गर्ने दिशामा नेप्सेले हरसम्भव प्रयास गर्ने बताए ।

विगतमा सूचना प्रवाहमा रहेको कमी–कमजोरीलाई न्यूनीकरण गर्दै लैजाने प्रयासस्वरुप नयाँ पद्धति थालनी गरिएको उनले उल्लेख गरे ।

अहिलेसम्म सूचीकृत कम्पनीहरुले नेप्सेलाई सूचना पठाउने र प्राप्त हुनासाथ यस्ता सूचना आदिलाई नेप्सेले आफ्नो वेबसाइटमा प्रविष्टी गरी सार्वजनिक गर्दै आएको थियो ।

यसलाई अरु छिटो–छरितो एवं पारदर्शी बनाइ संस्थागत् गतिविधिबाट सिर्जित सन्देशलाई कम्पनी स्वयंले जिम्मेदारीपूर्वक नेप्सेको वेबसाइटको तोकिएको ‘फिल्ड’मा प्रविष्टी गर्ने व्यवस्था गरिएको नेप्सेले जनाएको छ ।