२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


आज गणतन्त्र दिवस मनाइदैं, सत्ता-राजनीतिको किचलो कायमै


0
Shares

काठमाडौं, जेठ १५ । आज गणतन्त्र दिवस मनाईंदैछ । २०६५ सालमा संविधानसभाको पहिलो बैठकबाट स्थापित गणतन्त्र आजदेखि आठौं वर्ष पूरा भएर नवौं वर्षमा प्रवेश गरेको छ ।

यस अवसरमा देशभर विभिन्न कार्यक्रम गरिँदै छन् । वि.सं. २०६२/०६३ सालमा भएको जनआन्दोलनले मुलुकमा शताब्दीऔं लामो राजतन्त्रलाई समूल अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना गरेको थियो ।

वि.सं. २०६४ सालको चैत्रमा सम्पन्न संविधानसभा निर्वाचन र त्यसपछि बसेको संविधानसभाको पहिलो बैठकले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

यो घोषणासँगै राजतन्त्रका अन्तिम उत्तराधिकारी राजा ज्ञानेन्द्र शाहले नारायणहीटीबाट बिदा लिनु भएको थियो । यद्यपि, पहिलो संविधानसभाले मुलुक संघीय गणतन्त्रमा लगेपनि संविधान बनाउन भने फेरि २०७२ सालमा दोस्रो संविधानसभाको निर्वाचन गर्नुपर्‍यो ।

गणतन्त्र स्थापनाको दशक हुन लाग्दा पनि मुलुकमा राजनीतिक संक्रमण यथावत रहेको छ भने जनजिविकाका सवालमा कुनै परिवर्तन हुन सकेको छैन । जनताको जीवन दिनप्रतिदिन कष्टकर बनिरहेको छ भने धनी र गरीबबीचको खाडल झन् ठूलो बन्दै छ ।

सत्ता राजनीतिक किचलो र झगडा अझै सकिएको छैन । २०७२ साल असोज ३ गते जारी गरिएको संविधान कार्यान्वयनको जटिल चुनौति कायमै छ ।

यसैअवसरमा आज राष्ट्रपति गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा सरिक हुनुहुने छ । गणतन्त्र दिवस मूल समारोह समितिद्वारा बिहान आयोजना हुने उक्त समारोहमा उपराष्ट्रपति र प्रधानमन्त्री पनि सहभागिता रहने छ ।