
काठमाडौं, जेठ १५ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका ‘राष्ट्रवादी नारा’हरु बर्तमान नेपालको परिस्थितिमा असम्भव भएको चर्चा चलिरहेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस ओली सरकार ‘हावादारी’ भयो भनेर चर्को आलोचना गरिहेकै बेला कांग्रेसकै केही नेता भने सरकारका योजनाहरु सकारात्मक भएको अभिब्यक्ति दिइरहेका छन् ।
ओली नेतृत्वको सरकारलाई साथ दिने पक्षमा नेतृ सुजाता कोइराला पहिलो नम्बरमा छिन् । नेवि संघले सरकारले ल्याएका योजनाहरु हावादारी भएको भन्दै ब्यङयात्मक आन्दोलन गरिरहेको छ तर नेवि संघकै केन्द्रीय सदस्य लाओस राई सरकारका योजनाहरु सकरात्मक भएको अभिव्यक्ति दिइरहेका छन् ।
नेतृ सुजाता कोइरालाले इमेज च्यानलको ‘अलगधार’ कार्यक्रममा सरकारले विकास निर्माण र समृद्ध नेपालका लागि बनाइरहेको योजनाहरुको सम्मान गर्नुपर्ने बताएकी छिन् । ओली सरकारले ‘घर–घरमा ग्यास पुर्याउने’, ‘पेट्रोल उत्पादन गर्ने’, ‘नेपालमा ट्रेन गुडाउने’ भावि योजना सकरात्मक रहेको सुजाताको भनाई छ ।
‘यही सरकारलाई नेपाली कांग्रेसले साथ दिनुपर्छ, उनले भनिन् , ‘हामी प्रतिपक्षमा बसेर राम्रोलाई राम्रो र नराम्रोलाई औल्याउन सक्नुपर्छ, तर सरकारले उठाएका राम्रा कामलाई सहयोग गर्नुपर्छ ।’ उनले आफू विकासप्रेमी भएकाले सरकारले ल्याएका विकासे नारालाई समर्थन गनुपर्ने धारणा राखिन् ।
यता नेपाली कांग्रेसको भातृ संगठन नेवि संघले दैनिकजसो ओली सरकारको विरोध स्वरुप व्यङग्यात्मक कार्यक्रमहरु संचालन गरिरहेको छ । ‘प्रधानमन्त्रीले हावादारी कुरा गर्दै हिंडे’ भनेर चर्को विरोध गरिरहेको छ । तर नेवि संघकै केन्द्रीय सदस्य लाओस राई सरकारले उठाएका ‘राष्ट्रवादी नारा’ सकरात्मक भएको अभिव्यक्ति दिएका छन् ।
उनले युवालाई आकर्षक गर्ने योजना अघिल्ला सरकारहरुले ल्याउन नसकेको र राष्ट्र विकासको मूलधारमा युवालाई सहभागिता गराउन नसकेको कारण बर्तमान सरकारले ल्याएका कार्यक्रम युवा लक्षित रहेको बताए ।
यस्ता ‘राष्ट्रवादी योजना’हरु कार्यान्वयन गर्न सरकारले सक्नुपर्छ साथै युवालाई आत्महत्या गर्न र विदेशिनु पर्ने बाध्यताको अन्त्य गरिनुपर्छ ।’ राईले भने,‘ शैक्षिक प्रमाणपत्र राखेर ऋण लिने व्यवस्था गर्नु नराम्रो होइन् यस्ता राष्ट्र समृद्ध बनाउने योजनाहरुबाट कांग्रेसले पनि सिक्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस्