
ताप्लेजुङ, जेठ १५ । बन्यजन्तुले मानिस माथिनै आक्रमण गर्न थालेपछि ताप्लेजुङको कालिखोला गाविसका स्थानीयले गाउँनै छाड्न थालेका छन् ।
मानिस र घर पालुवा बस्तुभाउमाथि चितुवा र भालुले आक्रमण गर्न थालेपछि हाल सम्म २२ परिवारले गाउँ छाडेर अन्यत्र बसाई गएको कालीखोला–९ का स्थानियले बताएका छन् ।
गाउँ वरिपरी बाक्लो जंगल बढेको र दैनिक जसो जंगलबाट आउने कालो भालु र चितुवाले मानिस र घरपालुवा जनावर माथि आक्रमण गर्ने र लगाएको बाली पनि सखाप पार्ने भएकाले स्थानियको बसाई सार्नु बाहेकको विकल्प नभएको स्थानीयको भनाई रहेको छ ।
भारतसँग सिमाना जोडिएको यो गाविसमा भालु, बाघ, चितुवा, वन कुकुर, मृग लगायतका जनावरको आतंक बढेको कालीखोला सामुदायिक वन उपभोक्ता समितिकी सदस्य देवीमाया बानियाँले बताइन् ।
यी बन्य जन्तु नजिकैको सामुदायिक बन र सिमाना जोडिएको भारतको निकुञ्ज र आरक्षा क्षेत्र बाट समेत आउने गरेको उनको भनाइ छ । बसाईसरी गएकाहरु अधिकांश नजिक रहेको पाँचथर जिल्लाको फलैंचा गाविसमा बसेका छन् ।
विस्थापित उनीहरू गुजाराका लागि मध्यपहाडी लोकमार्गछेउमा टहरो बनाउने, व्यापार गर्ने र अधियाँमा खेती गर्न थालेका छन् । स्थानीयले गाउँ छाड्न थालेपछि घरहरु सबै जिर्ण अबस्थामा रहेका छन् भने अरु दर्जनभन्दा बढी परिवार पनि गाउँ छाड्ने तयारीमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्