८ असार २०८२, आइतबार | Sun Jun 22 2025


लिम्वु र किराँत भाषाका अनुसन्धानकर्ता एवं पत्रकार अधिकारीको निधन


0
Shares

ताप्लेजुङ, जेठ १६ । सुदुरपूर्वी जिल्ला ताप्लेजुङका पहिलो पत्रकार तथा सामाजिक अभियन्ता गोपीकृष्ण अधिकारीको निधन भएको छ ।

मुटु, मधुमेह तथा मृगौलाका विभिन्न रोगहरुबाट लामो समयदेखि पीडित अधिकारीको आज बिहान ७५ बर्षको उमेरमा निधन भएको हो ।

विसं. १९९८ साल फाल्गुण १० गते रामेछाप, कठजोरमा जन्मिएका र ताप्लेजुङ फुङ्लिङ वार्ड नं ५ स्थायी घर भएका अधिकारीको काठमाडौँ, धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा बिहान ६ बजे उपचारका क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

ताप्लेजुङको विकासमा अतुलनीय योगदान दिएका अधिकारीले ताप्लेजुङबासीको शिक्षा र चेतनास्तर माथि उठाउन समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । लिम्बु धर्म र भाषाको खोज गरेका अधिकारीले किराँत भाषा र साहित्यको पनि बृहत अनुसन्धान गरेका थिए ।

त्रिभुवन विश्वविद्यालयवाट २०२४ सालमा एमकम गरेका अधिकारीले ‘ख’ बर्गको लेखा परिक्षकका रुपमा समेत काम गरेका थिए । त्यसैगरी २०३४ सालमा राष्ट्रिय समाचार समितिको ताप्लेजुङ संवाददाताका रुपमा पत्रकारिता शुरु गरी लामो समयसम्म कलम चलाएका उनले पुर्वी नेपालको कला, साहित्य र संगितका विविध विषयहरुमा समाचार सम्प्रेषण गरेका थिए ।

उनले जिल्लामै पहिलोपटक ताप्लेजुङ साप्ताहिक पत्रिका समेत प्रकाशन गरेका थिए ।

आइतबारै उनको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

स्वर्गीय अधिकारीका श्रीमती, तीन छोरा र एक छोरी छन् ।