२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


पूर्वमन्त्री र अर्थविदद्वारा बजेट कार्यान्वयनमा आशंका


0
Shares

काठमाडौं, जेठ १६ । पूर्वमन्त्री एवं अर्थविदहरुले सरकारले पेश गरेको आर्थिक वर्ष २०७३/७४ को बजेट कार्यान्वयन हुनेमा शंका व्यक्त गरेका छन् ।

आइतबार राजधानीमा भएको यस सम्बन्धी छलफलमा सहभागी पूर्वमन्त्री तथा अर्थविदले यस्तो आशंका व्यक्त गरेका हुन् ।

पूर्व उर्जामन्त्री डा. प्रकाशशरण महतले बजेट उत्पादनमुखी नभएर वितरणमुखी मात्र भएकोले यसले अर्थतन्त्रमा समस्या आउने बताए ।

उनले बजेट कसैको इच्छापत्र जस्तो भएको बताउँदै सबैतिर दिएको छु भनेर देखाउन ठूलो आकारको बजेट ल्याएको आरोप लगाए । यो बजेटले अराजकता र अनुशासनहीनता ल्याउने उनको भनाई थियो ।

पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले बाध्यकारी स्थितिले गर्दा बजेट ठूलो र महत्वाकांक्षी हुन गएको बताए । उनले बजेटमा कतिपय कार्यक्रमको कार्यान्वयनको पक्ष पनि समेटिएको भन्दै बजेटको बचाउ गरे ।

पूर्व अर्थमन्त्री बर्षमान पुनले देश संघीयतामा गएपछिको बजेट आर्थिक एजेण्डामा केन्द्रित भएकोले स्वाभाविक रुपमा जनताको आकांक्षा, निजी क्षेत्रको चाहना एवं देशको आवश्यकता अनुरुपको भएको दाबी गरे । बजेट खर्च गर्ने संयन्त्र र संरचना पुरानै भएकोले यति बजेट कसरी खर्च हुन्छ भन्ने कुरा भने चुनौतीपूर्ण रहेको उनको भनाइ छ ।

पूर्व अर्थसचिव रामेश्वर खनालले बजेटमा केही राम्रा र आकर्षक पक्ष भए पनि कार्यान्वयन गर्न नसकिने बताए । खनालले बजेटमा घोषणा गरिएको राजश्व संकलनको लक्ष्य हासिल गर्न नसकेमा अर्थतन्त्रमा खतरा आउन सक्नेतर्फ पनि चिन्ता व्यक्त गरे ।

यस बजेटले करदाताबाट आश्रित कर्मचारीहरुको सुरक्षा बढे पनि ग्रामीण रोजगारी भने घट्ने उनको भनाई छ ।