२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


कांग्रेस सांसदहरुको अवरोधका कारण संसद बैठक स्थगित


0
Shares

काठमाडौं, जेठ १७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले संसद् बैठकमा अवरोध गरेका छन् । अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गर्नुभएको बजेटमाथि छलफल गर्न बोलाइएको संसद् बैठक सुरु भएलगत्तै कांग्रेसका सांसदहरुले अवरोध गरेका हुन् ।

बजेट संसदमा सार्वजनिक गर्न अघि नै अर्थमन्त्रीले गोपनीयताको भंग गर्दै सञ्चारमाध्यम र व्यापारीहरुलाई वितरण गरेको भन्दै कांग्रेस सांसदहरुले विरोध गरेका छन् ।

बैठकको सुरुमै विशेष समय लिएर बोल्दै कांग्रेस सांसद डा. रामशरण महतले सरकारले बजेट सार्वजनिक हुनुअगाडि नै सूचना लिक गरेर गलत नजिर बसाएको भन्दै छानबिन समिति गठन गर्न माग गरे ।

डा. महतले बोलेपछि कांग्रेसका सबै सांसद आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए । कांग्रेसको विरोधपछि सभामुख ओनसरी घर्तीले आघा घण्टाका लागि संसद् बैठक  स्थगित गरेका छन् ।

आजको बैठकमा अर्थमन्त्री पौडेलले सार्वजनिक गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुने कार्यसूची छ ।

१९ गतेसम्म सांसदहरुलाई बजेटमाथि धारणा राख्न दिने र २० गते अर्थमन्त्रीले जवाफ दिने कार्यक्रम छ । अर्थमन्त्री पौडेलले शनिबार १० खर्ब ४८ अर्ब रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेका थिए ।