२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


कांग्रेस सांसदको अवरोधले तीनपटक संसद बैठक स्थगित, यस्तो छ माग


0
Shares

काठमाडौं, जेठ १७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले अवरोध गरेपछि व्यवस्थापिका–संसदको बैठक सोमबार तीनपटक स्थगित भएको छ ।

बैठक सुरु भएलगत्तै नेपाली कांग्रेसका सांसद डा. रामशरण महतले बजेटको विवरण संसदमा पेश हुनुअघि नै सार्वजनिक भएकोमा आपत्ति जनाउँदै छानबिन गर्न माग गरे ।

उनले अर्थमन्त्रीले गोपनीयताको भंग गर्दै सन्चारमाध्यम र व्यापारीहरुलाई वितरण गरेको भन्दै आपत्ति जनाए ।

डा. महतले बोलेपछि कांग्रेसका सबै सांसद आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए ।

कांग्रेसको विरोधपछि सभामुख ओनसरी घर्तीले आधा घन्टाका लागि संसद बैठक स्थगित गरेकी थिइन् ।

आधा घन्टाको स्थगनपछि पुनः सुरु भएको बैठकमा कांग्रेसका अर्का सांसद रमेश लेखकले छानबिनको माग गरे ।

त्यसपछि कांग्रेसका सबै सांसद आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएलगत्तै सभामुख घर्तीले दिउँसो साढे १ बजेसम्मका लागि पुनः बैठक स्थगित गरिन् ।

तेस्रोपटक निर्धारित् साढे १ बजे पुनः सुरु भएको बैठकको सुरुमै कांग्रेस सांसद महेश आचार्यले सोही माग दोहोर्‍याएका थिए ।

त्यसपछि सभामुख घर्तीले दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरिन् ।

बैठकमा अर्थमन्त्री पौडेलले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुने कार्यसूची छ ।

१९ गतेसम्म सांसदहरुलाई बजेटमाथि धारणा राख्न दिने र २० गते अर्थमन्त्रीले जवाफ दिने कार्यक्रम छ ।

अर्थमन्त्री पौडेलले शनिबार १० खर्ब ४८ अर्ब रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेका थिए ।

फाइल फोटो