२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


सगरमाथाको आधार शिविर सुनसान


0
Shares

सोलुखुम्बु, जेठ २० । हिमाल आरोहणको मुख्य सिजन चैतको दोस्रो हप्तादेखि जेठको दोस्रो हप्तासम्म हजारौं आरोहीले टनाटन भरिएको सगरमाथा आधार शिविर शून्यतामा परिणत भएको छ ।

सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल आरोहण गर्न गएका आरोही फर्किसकेकाले सगरमाथा आधार शिविर सुनसान भएको हो ।

अहिले त्यहाँ सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसीका फोहर संकलन गर्ने १२ जना कर्मचारीमात्र बाँकी रहेको एसपीसीसीका कार्यक्रम संयोजक कपिन्द्र राईले जानकारी दिए ।

वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न आउने आरोहीले जेठ १६ (मे २९)भित्र आरोहण गरिसक्नुपर्ने र जेठ १९ गते (जुन १)भित्र आधार शिविर खाली गरिसक्नुपर्ने सरकारी नियम छ । धेरैजसो आरोही जेठको १४/१५ गते नै फर्किएका थिए ।

‘सिजनमा त बजार जस्तै हुन्थ्यो, कोही काम गर्ने, कोही सामान ओसार्ने, कोही हिमाल चढ्न जाने। बसुँबसुँजस्तो लाग्थ्यो, अहिले त सुनसान भइसक्यो’–कार्यक्रम संयोजक राईले भने ।

आधार शिविरको सरसफाइ गरिरहेका कमिटीका सदस्य फर्केपछि सगरमाथा आधार शिविर पूर्णरुपमा शून्यतामा परिणत हुनेछ र त्यस आसपासका प्रायजसो होटलसमेत अबको तीन महिनाका लागि बन्द हुन्छन् । रासस