२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


माओवादी केन्द्रको एक हजार ९९ सदस्यीय महाधिवेशन आयोजक समिति


0
Shares

काठमाडौं, जेठ २० । नेकपा माओवादी केन्द्रले महाधिवेशन आयोजक समिति हालसम्मकै ठूलो बनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विहीबार बसेको पोलिटब्युरोको बैठकले एक हजार ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको हो ।

बैठकले ९९९ जना मनोनयन गरेको छ भने बाँकी रहेका एक सयजना भने आगामी दिनमा थपिने माओवादी केन्द्रले जनाएको छ ।

पार्टी एकता प्रक्रियामा नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपा माओवादी र नयाँ शक्ति अभियानको ठूलो हिस्सा समावेश हुने भन्दै महाधिवेशन आयोजक समितिमा थप एक सय सदस्य खाली राखिएको माओवादीले जनाएको छ ।

यस्तै, बैठकले ८५ सदस्यीय स्थायी समिति बनाएको छ भने २५५ सदस्यीय पोलिटब्युरो बनाइएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

बुधबार बसेको केन्द्रीय कार्यालयको बैठकले स्थायी समिति ७५ सदस्यीय बनाउने निर्णय गरेको थियो ।

‘सबै विचार तथा समूहलाई जिम्मेवारी दिएर जनताको तहसम्म पुर्‍याउनका लागि महाधिवेशन आयोजक समिति ठूलो बनाइएको हो । पार्टी संगठन विस्तार गर्नका लागिमात्रै ठूलो बनाइएको हो । सो समिति महाधिवेशनसम्मका लागि हो । महाधिवेशनमा अध्यक्षदेखि सबै सदस्य निर्वाचित हुनुपर्ने भएकाले हाल ठूलो वा सानो हुनुले केही प्रभाव पार्दैन’–प्रवक्ता भुसालले भनिन् ।

बैठकमा केही नेताले भने महाधिवेशन आयोजक समिति ठूलो बनाउन नहुने धारणा राखेका थिए ।

उनीहरुले संगठनात्मक संरचना ठूलो बनाउँदा काम गर्न समस्या पर्ने भन्दै चुस्त र दुरुस्त बनाउन आग्रह गरेका थिए ।

बैठकले देशव्यापी रुपमा प्रशिक्षण कार्यक्रम चलाउने र पार्टीको एकता प्रक्रियालाई जनस्तरसम्म पुर्‍याउने निर्णयसमेत गरेको छ ।

सोही निर्णयअनुसार विहीबार प्रदेश नम्बर–३ को प्रशिक्षण कार्यक्रम राखिएको छ । रासस

फाइल फोटो