२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


यो हो धनगढीको एअरक्राफ्ट्स म्युजियम, हेर्न पाइन्छ विश्वका ‘विमान’ (भिडियोसहित)


0
Shares

सन्दीप पौड्याल, इमेज
कैलाली, जेठ २० । क्याप्टेन वेद उप्रेती डडेल्धुराका हुन् । जन्म भन्ने कैलालीमा भएको हो । उनको कर्मथलो नेपालमा नभई इन्डोनेशिया हो । त्यहाँको लायन एयरबाट उनले हवाईजहाज उडाउनुको साथै अरु पाइलटलाई प्रशिक्षक दिन्छन् ।

लायन एयरको छातामुनि ५ सय भन्दा बढी पाइलट र चार हजार बढी एयर होस्टेज छन् । फोटोग्राफी उनको रुचि । विश्व बजारमा नेपालको मार्केटिङ गर्न सुन्दर तस्बिर सजिएका आधा दर्जन पुस्तक प्रकाशन गरेका छन् । केही छापिँदै छन् ।

खासमा इन्जिनियरिङ पढ्न भनेर काठमाडौं पसेका थिए उनी । जीवनको सहासिक यात्रामा संघर्षबाट खारिएका छन् । मध्यमवर्गिय परिवारमा पिता दूर्गा र माता सरस्वतीका जेठा सन्तानका रुपमा धनगढीमा जन्मेका हुन् वेद उप्रेती । सिद्धनाथ साइन्स क्याम्पस महेन्द्रनगरबाट आइएस्सीको प्रमाणपत्र च्यापेर काठमाडौं छिर्दा इन्जिनियर बन्ने सपना थियो उनको । शिक्षा मन्त्रालयको छात्रबृत्ति कुर्दाकुर्दै नेपाली सेनामा सकेण्ड लेफ्टिनेन्ट खुल्यो । उनी ०४० सालमा भर्ति भए । तालिम सकियो । पाइलटको छात्रबृत्ति आयो । उनले प्रयास गरे । सफल भए । र, भारतको पुनामा तीन वर्ष पाइलट कोर्स गरे । फर्केर खरिपाटीमा काम गर्न थाले । बीचमा उनले अमेरिकाबाट कर्मसियल उडानको लाइसेन्स लिइसकेका थिए । सेनामा १२ वर्ष विताए । ०५२ सालमा सेनाबाट राजीनामा दिँदा उनी क्याप्टेन भैसकेका थिए ।

त्यही वर्ष नीजि वायुसेवा कम्पनी नेकोन एयरसँग आबद्ध भएर उनी जहाज उडाउन थाले । सन् २००४ मा नेकोन एयर बन्द भएपछि अन्तर्राष्ट्रिय उडान सुरु भयो उनको । उनले भारतको किंगफिसर जहाज ८ वर्ष उडाए । किंगफिसर पनि सन् २०१२ मा बन्द भयो । त्यसपछि इन्डोनेसियाको लायन एयरमा प्रशिक्षक पाइलटका रुपमा काम गर्न थाले । हवाई उडान भर्नु, पाइलटलाई सिकाउनु र परिक्षा लिनु उनको काम । लगातार ६ हप्ता उडेपछि ४ हप्ता बिदा पाउँछन् ।

सात समुन्द्र पारी हवाईजहाजको ‘ककपीट’ मा बसिरहँदा पनि क्याप्टेन बेद उप्रेतीलाई जन्मथलो सुदूरपश्चिमको याद आईरहन्थ्यो । ५३ वर्षअघि कैलालीको सदरमुकाम धनगढी नजिकैको बेलादेवीपुर गाविस बाँसखेडामा जन्मिएका उप्रेतीलाई जन्मथलोका लागि केही गर्नुपर्छ भन्ने सोच आयो । तर, उनको दिमागमा जन्मथलोका लागि के गर्ने ? भन्ने बारेमा योजना फुरेको थिएन । तर उनको आँखा त्रिभुवन विमानस्थलमा थन्किएको ‘एयरक्राफ्ट’ मा पर्‍यो । तुरुन्तै उनको दिमागमा एउटा योजना बन्यो । जन्मथलो सुदूरपश्चिममा ‘एयरक्राफ्ट म्युजियम’ बनाउने ।

उनी भन्छन्– विश्वका अन्य ठाउँमा रहेका म्युजियमभित्र एयरक्राफ्ट देखेको छु तर म एयरक्राफ्ट भित्र म्युजियम बनाउँछु । उनी त्यही योजनालाई साकार पार्न विमानस्थलमा थन्किएको कस्मिक एयरको एयरक्राफ्ट खरिद गर्न सफल भए । एक सय सीट क्षमताको त्यो एयरक्राफ्ट तीन टुक्रा पारेर ट्रकमा लोड गरी स्थलमार्ग हुँदै धनगढी ल्याई पु¥याए । १० वर्षसम्मका लागि जमिन भाडामा लिएर स्थापना गरेको एयरक्राफ्ट म्युजियममा संसारमा अहिलेसम्म निर्माण भएका हवाईजहाजका करिव २ सयभन्दा बढि मोडेल र सुदूरपश्चिमको फोटो प्रदर्शनी देख्न सकिन्छ । राइट ब्रदर्सले निर्माण गरेको हवाईजहाजदेखि अहिलेसम्मको लेटेस्ट विमानका मोडेल म्युजियममा राखिएका छन् । हवाईजहाजका बारेमा अध्ययन गर्नुका साथै मनोरञ्जनका हिसाबले पनि म्युजियम उपयोगी हुने क्याप्टेन उप्रेतीले बताए । यो म्युजियम अवलोकनका लागि नेपालीमात्रै नभएर भारतीय नागरिकसमेत आउने गरेका छन् ।

भ्रमण बर्ष २०७३ को अवसरमा सुदूरपश्चिममा गाउँ प्रबर्द्धन गर्न पुगेको गाउँ पर्यटन प्रबर्द्धन मञ्च (भिटोफ) नेपालका पदाधिकारीहरुले समेत यस एयरक्राफ्ट म्युजियमको अवलोन गरे । पर्यटक भित्राउन यो देशमै एउटा उदाहरणीय काम भएको भिटोफ अध्यक्ष चित्र बहादुर गुरुङले एयरक्राफ्टको अवलोकनपछि प्रतिकृया दिए ।

क्याप्टेन उप्रेतीले एयरक्राफ्ट म्युजियमबाट भएको आम्दानी कैलालीका क्यान्सर प्रभावित व्यक्तिको उपचार र शैक्षिक विकासमा खर्च गरिने बताएका छन् । हाल म्युजियममा दैनिक सयजना जति घुम्न आउने गरेका छन् । उनले स्थानीय विद्यालय तथा कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुलाई म्युजियममै एयरक्राफ्टको मोडल बनाउने तालिमसमेत दिएका छन् । जसले गर्दा विद्यार्थीहरु नयाँ नयाँ प्रविधिको ज्ञानसमेत सिक्न पाएकोमा दंग छन् ।

फोटोग्राफी र घुम्नका सोखिन उप्रेतीले हालसम्म विश्वका ८० देश घुमिसकेका छन् । देशविदेश घुम्ने क्रममा उनले हजारौं तस्वीर क्यामेरामा कैद गरेका छन् । यो क्रममा उनी नेपालका थुप्रै रमणीय स्थललाई समेत क्यामेरामा कैद गर्न सफल भए । उनी हवाईजहाजको ककपिटमा बसेका बेलामात्रै हैन फोटोग्राफीका लागि हेलिकोप्टर चार्टर गरेरसमेत निस्कन्छन् । उनले फोटोग्राफीलाई समेटेर एक दर्जनभन्दा बढि पुस्तक प्रकाशित गरिसकेका छन् ।

उनका धेरै जसो पुस्तकमा नेपालको पर्यटकीय सम्भावना समेटिएको छ । एयरक्राफ्ट म्युजियम सञ्चालनमा ल्याउन उनले करिब सवा करोड खर्च गरेका छन् भने यहाँका करिब २० जनालाई रोजगारीसमेत दिएका छन् । काठमाडौंमा पनि संग्रहालय बनाउने कसरतमा अहिले उप्रेती जुटेका छन् ।

कञ्चनपुरको महेन्द्रनगरमा अर्को संग्रहालय बनाउँदै छन् क्याप्टेन उप्रेती । त्यहाँ सिद्धनाथ बाबाको १५ फिट अग्लो मूर्ति हुनेछ । सिद्धनाथको जटाबाट चौबिसै घन्टा पानी झर्नेछ । त्यो पानी स्विमिङ पुलमा पुग्नेछ । त्यसको वरपर सुदूरपश्चिमका प्रमुख देवदेवीका ५० वटा मूर्ति राखिनेछ । ती मूर्ति चाहिँ अढाइ फिट अग्ला हुनेछन् । त्यसबाहेक हिन्दुका चार धामका मूर्तिहरु राखिनेछ । एकै ठाउँमा सिंगो सुदूरपश्चिमका देवदेवी दर्शन गर्न मिल्नेछ । कुनै बेला कैलालीको धनगढीमा के छ र भन्नेहरुलाई समेत अहिले एयरक्राफ्ट म्युजियम र क्याप्टेन उप्रेतीको सोचले तानेको छ । यहाँ पुग्ने जो कोही पनि एकपटक यो एयरक्राफ्ट म्युजियमको अवलोकन नगरी फर्कदैनन् ।