२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


फ्रेन्च ओपनको सेमिफाइनलमा पुगे जोकोभिच र विलियम्स


0
Shares

पेरिस, जेठ २१ । शीर्ष खेलाडीहरु नोभाक जोकोभिच र सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा पुगेका छन् ।

फ्रान्सको पेरिसस्थित रोलाँ ग्यारोमा गएराति भएको पुरुष एकलतर्फको खेलमा चेक गणतन्त्रका टामस बर्डीचलाई हराउँदै जोकोभिच सेमिफाइनलमा पुगेका हुन् । सातौं वरियताका बर्डीच विरुद्धको खेल जोकोभिचले ६-३, ७-५ र ६-३ ले आफ्नो पक्षमा पारे ।

जितसँगै जोकोभिचले वर्षको पहिलो फ्रेन्च ओपन जित्ने सम्भावना बलियो पारेका छन् । जोकोभिचले क्ले कोर्टमा हुने फ्रेन्च ओपन बाहेकका अन्य तीनवटै ग्रान्ड स्लाम टेनिस प्रतियोगिता जितिसकेका छन् ।

फाइनल प्रवेशका लागि जोकोभिचले अब सेमिफाईनलमा अष्ट्रियन खेलाडी डोमिनिक थिएमसँग खेल्नेछन् ।

उता महिलातर्फ काजखस्तानकी युलिय पुटिनसेभालाई हराउँदै अमेरिकाकी सेरेना विलियम्स सेमिफाइनलमा पुगेकी छन् । पुटिनसेभा विरुद्धको खेल सेरेनाले ५-७, ६-४ र ६-१ ले आफ्नो पक्षमा पारिन् ।

जितसँगै सेरेना करियरका २२ औं ग्रान्ड स्लाम जित्ने अभियानमा एक कदम अगाडि पुगेकी छन् । जारी प्रतियोगिता जितेको खण्डमा सेरेना सर्वाधिक ग्रान्डस्लाम जित्ने महिला खेलाडीको सुचीको दोस्रो स्थानमा उक्लिनेछिन् । सेरेनाले हालसम्म २१ वटा ग्रान्डस्लाम उपाधि जितेकी छिन् भने २२ उपाधि जितेकी स्टेफी ग्राफ दोस्रो तथा २४ उपाधि जितेकी मार्गरेट कोर्ट पहिलो स्थानमा छन् ।