
रमेश लम्साल (रासस)
रसुवा, जेठ २१ । मुलुक ऊर्जासंकटमा छ । सरकार र निजी क्षेत्रले विभिन्न जलविद्युत् आयोजना निर्माण गरिरहेका छन् ।
तर, जलविद्युत् आयोजनामा कार्यरत् मजदुरले कसरी काम गरिरहेका होलान् र उनीहरुको सेवा–सुविधा के–कस्तो होला ? भन्नेबारेमा आममान्छेलाई जानकारी छैन ।
विशेषगरी जलविद्युत् आयोजनाको सुरुङमार्गभित्र जोखिम मोलेर काम गर्ने मजदुरको दैनिकी असाध्यै कस्टकर रहन्छ ।
अक्सिजनको अभाव, निर्माण सामग्री आसोर–पसार गर्दा आइपर्ने झन्झट पनि अर्को कठिनकार्यकोरुपमा लिइने गरिन्छ
।
चिलिमे जलविद्युत् कम्पनीले निर्माण गरिरहेको तल्लो सान्जेन जलविद्युत् आयोजनामा कार्यरत् मजदुर भने मुलुकलाई उज्यालोपार्ने काममा आफूहरु संलग्न हुन पाउँदा कस्ट सामान्य लाग्ने गरेको बताउँछन् ।
‘चिममा बलेको उज्यालो हेर्दा लाग्छ, यो उज्यालोमा मेरो रगत पसिना छ, मेरो श्रम छ’–सान्जेनको सुरुङभित्र भेटिएका दैलेखका लोकबहादुर खाणले रासससँग भने–‘काम जोखिम भएपनि आफूले गरेको कामप्रति गौरव लाग्छ । मुलुक बिजुलीको अभावमा छटपटाइरहेको बेला हामीले चाँडै काम सम्पन्न गर्यौं भने केही मात्रामा भएपनि राहत हुन्थ्यो भन्ने लाग्छ ।’
गत वर्षको ‘गोरखा भूकम्प’पछि सुरुङभित्र काम गर्दा भूकम्प आउँछ कि भन्ने डर उत्पन्न हुने गरेको खाणले बताए ।
सोही जलविद्युत् आयोजनाको सुरुङभित्र भेटिएका प्यूठानका टोपबहादुर योगी लोडर चलाउँछन् ।
यसअघि, अपर माई, हेवाखोलामा काम गरेको अनुभव छ उनीसँग । ‘खतरा मोलेर काम गर्दा कहिलेकाँही घरको याद आउँछ, तर रोजगारी पाइँदैन, सीप भए जलविद्युत् आयोजनामा काम पाउन समस्या छैन’–योगीले भने ।
जमिनमुनि सुरुङमा काम गर्दा सजिलो नभएपनि मुलुकलाई ठूलो योगदान दिने काम गरिएको छ भन्ने भावना आम मजदुरमा छ ।
ठेकेदारले जोखिममा काम गर्ने मजदुरलाई सेवा–सुविधा पनि राम्रै दिएका छन् ।
निर्माण व्यवसायीले आवश्यक परेको स्थानमा जुनसुकै मजदुरलाई पनि परिचालन गर्ने गरेका छन् । उनीहरु जहाँ लगेपनि खुसीकासाथ काम गर्ने गरेका छन् ।
रसुवाकै लाक्पा गुम्बु पनि सुरुङमार्गमा काम गर्दा गर्दै भेटिए । ‘रोजगारी पाउनु नै महत्वपूर्ण विषय भएकाले कस्ट भएपनि काम गरिएको छ, दूरदराजमा विद्युत् बल्दा असाध्यै खुसी लाग्छ’–गुम्बुले भने ।
कपिलवस्तुका रवीन्द्रप्रसाद पोखरेल सुरुङभित्र सबैभन्दा कठिन मानिएको ड्रिलिङको काम गर्छन् ।
विगत १३ वर्षदेखि मुलुकका विभिन्न जलविद्युत् आयोजनामा काम गर्दै आएका पोखरेल पछिल्लो दुई वर्षदेखि सान्जेन जलविद्युत् आयोजनामा काम गर्दै आएका छन् ।
खिम्ती, झिमरुकलगायतका आयोजना सम्पन्न गरेको अनुभव छ पोखरेलसँग । ‘सुरुङभित्र काम गर्दा डर त लाग्छ तर हिजोआज अनुभव भएकाले त्यति गाह्रो लाग्दैन, सुरक्षात्मक उपाय अपनाइन्छ’–पोखरेलले भने ।
सान्जेन जलविद्युत् आयोजनाको दुईओटा परियोजना हाल निर्माणकोक्रममा रहेको छ । कुल १४.८ मेगावाट क्षमताको सान्जेन र ४२.५ मेगावाट क्षमताको तल्लो सान्जेनमा हाल एक हजार बढी मजदुर विभिन्न काममा व्यस्त छन् ।
कोही कसैसँग बोल्ने फुर्सदसमेत छैन । सुरुङभित्र उज्यालो र अभाव हावाको अभाव रहन्छ ।
माथिल्लो सान्जेन जलविद्युत् आयोजना बज्रगुरु र भारतीय निर्माण कम्पनीको संयुक्त उपक्रमले निर्माण गरेको छ भने तल्लो सान्जेन तुदी निर्माण सेवा र भारतीय उपक्रमले निर्माण गरिरहेको परियोजना हो ।
निर्माण कम्पनीले आवश्यकताका आधारमा मजदुर परिचालन गर्ने गरेका छन् ।
बज्रगुरु निर्माण सेवाका प्रतिनिधि प्रणव खड्का जलविद्युत् आयोजना मुलुकको महत्वपूर्ण विषय भएकाले एक मिनेट पनि ढिला नगरिकन काम जारी रहेको बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्