
पाँचथर । काबेली करिडोर १३२ केभी प्रसारणलाइन आयोजनाको दोस्रो खण्डको निर्माण सम्पन्न भएको छ ।
आयोजनाअन्तर्गत इलामको सोयाकदेखि पाँचथरको फिदिमखण्डको निर्माण सम्पन्न भएपछि परीक्षण प्रसारण सुरु गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
सोयाकबाट एउटा लाइन इलामको गोदक र अर्को लाइन झापाको लखनपुरतर्फ लगिएको छ ।
सोयाकबाट दुवै लाइन पाँचथरको फिदिमको थापाटार सबस्टेसनमा जोडिएको छ ।
४२ दशमलव ८८ किलोमिटर लम्बाई भएको प्रसारणलाइनको दोस्रो खण्डमा १२६ वटा टावर छन् ।
फिदिम–अमरपुर तेस्रो खण्डको निर्माण अगामी असारभित्र सम्पन्न गरी प्रसारण लाइन सञ्चालनमा ल्याइने बताइएको छ ।
पाँचथर र ताप्लेजुङमा रहेका काबेली, हेवा, माईलगायतका खोलामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि काबेली करिडोर निर्माण गरिएको हो ।
झापाको लखनपुरबाट सुरु भएको ९१ किलोमिटर प्रसारणलाइन इलाम, पाँचथर, तेह्रथुम हुँदै पाँचथरकै अमरपुरसम्म पुग्छ ।
प्रसारणलाइनलाई तीन खण्डमा विभाजन गरी निर्माण गरिएको हो । आयोजनाले निर्माण गर्नुपर्ने २६१ वटा टावरमध्ये तेस्रो खण्डको एउटाको मात्रै काम बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्