Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


एसएलसीको नतिजा असार १० भित्र


0
Shares

काठमाडौं, जेठ २१ । परीक्षा नियन्त्रण कार्यालय (पनिका) सानोठिमी भक्तपुरले २०७२ सालको प्रवेशिका परीक्षा (एसएलसी)को परीक्षाफल असार १० गतेसम्ममा प्रकाशित गर्ने तयारी गरेको छ ।

कार्यालयका परीक्षा नियन्त्रक कृष्ण काप्रीले भने–‘हामीले असारको १० गतेभित्रमा नतिजा निकाल्ने तयारीकासाथ काम गरिरहेका छौं ।’

उनकाअनुसार अहिले उत्तरपुस्तिका परीक्षण सकाएर प्राप्ताङ नम्बरको तथ्यांक भर्ने कार्य भइरहेको छ ।

‘अहिलेसम्म ७० प्रतिशत तथ्यांक भर्ने काम सकिएको छ’–उनले भने–‘अब ३० प्रतिशतमात्र बाँकी छ । त्यो काम पाँचदेखि सात दिनभित्रमा सकिन्छ ।’

पनिकाले यस वर्षदेखि प्राप्ताङ नम्बर नभएर अक्षरांकन प्रणाली (ग्रेडिङ)मा परीक्षाफल प्रकाशित गर्दैछ ।

विभिन्न ९ ग्रेडिङमा परीक्षाफल गरिने परीक्षा नियन्त्रक काप्रीले जानकारी गराए ।

उनकाअनुसार ९० देखि १०० प्रतिशत ल्याउने ए प्लस, ८० देखि ९० प्रतिशत ए, ७० देखि ८० प्रतिशत बी प्लस, ६० देखि ७० प्रतिशत बी, ५० देखि ६० प्रतिशत सी प्लस,४० देखि ५० प्रतिशत सी, ३० देखि ४० डी प्लस, २० देखि ३० डी र २० देखि १० प्रतिशत ल्याउनेलाई इ अक्षरांकनमा राखिएको छ ।

परीक्षामा नियमित र एक्जाम्टेडतर्फ ६ लाख १२२ जना सहभागी भएका थिए ।

जसमध्ये नियमिततर्फ चार लाख ४० हजार ६४९ र एक्जाम्टेडतर्फ एक लाख ५९ हजार ४७३ परीक्षार्थी सहभागी भएका थिए ।

चैत १८ गतेबाट सुरु भएको परीक्षामा प्राविधिकतर्फ तीन हजार २५५ परीक्षार्थी सहभागी भएका छन् । रासस  

फाइल फोटो