
काठमाडौं, जेठ २१ । प्रमुख सत्ताघटक दल नेकपा एमाले नेताहरुले राष्ट्रिय सहमतिको सरकारका लागि आफ्नो पार्टी सधैं तयार रहेको बताएका छन् ।
पार्टीका विभाग गठनको निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेताहरुले राष्ट्रिय सहमति मुलुकको अहिलेको आवश्यकता हो भन्दै संविधान कार्यान्वयनका लागि प्रमुख दलबीच साझा समझदारी हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा महासचिव ईश्वर पोखरेलले सहमतिमा बन्ने राष्ट्रिय सरकारप्रति आफ्नो पार्टीको सहमति हुने जानकारी दिँदै भने–‘सहमति एमाओवादीका अध्यक्षका नाममा पनि हुन सक्छ वा कांग्रेसको तथा एमालेका नेताका नाममा पनि हुन सक्छ ।’
सहमतिका लागि अघि बढ्न एमालेमा कुनै द्विविधा नभएकामा जोड दिँदै महासचिव पोखरेलले भद्र सहमतिकाबारेमा आफूलाई कुनै जानकारी नभएको बताए ।
‘त्यो बैठकमा बस्ने साक्षी हामी पनि हौं’–उनले भने–‘सहमति हुनु मुख्य कुरा हो । कसले नेतृत्व गर्छ त्यो प्रमुख कुरा होइन । सहमतिको प्रयत्नलाई स्वीकार गरेर नयाँखालको स्थिति आउँछ भने पनि त्यसका लागि छलफल गर्न हामी तयार छौं ।’
कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता झलनाथ खनालले मुलुक संविधान कार्यान्वयनको चरणमा रहेकाले प्रमुख दलकाबीच साझा सहमति आवश्यक रहेको बताए ।
शान्ति प्रक्रियादेखि संविधान निर्माण प्रक्रियासम्म प्रमुख दलबीच भएको सहमति र साझा समझदारी संविधान कार्यान्वयनमा हुनु आवश्यक रहेकामा जोड दिँदै नेता खनालले भने–‘त्यस्तो सहमति हाम्राबीचमा भएकै हो । प्रमुख दल सत्तामा वा प्रतिपक्षमा बसे पनि साझा समझदारी चाहिन्छ ।’
एमालेले २०७१ साल असारमा सम्पन्न भएको नवौं राष्ट्रिय महाधिवेशनपछि शुक्रबार नामावलीसहित केन्द्रीय विभाग गठन गरेको छ ।
वि.सं २०७२ चैतको अन्तिम तथा २०७३ वैशाखको पहिलो हप्तामा सम्पन्न भएको पार्टी केन्द्रीय कमिटीको छैटौं बैठक तथा स्थायी समितिको बैठकले उक्त काम सम्पन्न गर्नका लागि पार्टी महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा सचिवद्वय पृथ्वीसुब्बा गुरुङ र गोकर्ण विष्ट सदस्य रहेको कार्यदल गठन गरेको थियो ।
कार्यदलले छलफल र परामर्श गरी बढीमा २५ सदस्यसहित ३१ ओटा विभाग गठन गरेको पोखरेलले बताए ।
गठन गरिएका विभागमध्ये पार्टी स्कुल विभाग प्रमुखमा केपी शर्मा ओली, वैदेशिक मामिला विभाग प्रमुखमा माधवकुमार नेपाल, अर्थ तथा योजना विभागको प्रमुखमा सुरेन्द्र पाण्डे, आर्थिक विभाग प्रमुखमा विष्णुप्रसाद रिमाल, उद्योग तथा वाणिज्य विभाग प्रमुखमा मुकुन्द न्यौपाने, उपभोक्ताहित संरक्षण तथा सुशासन विभाग प्रमुखमा घनेन्द्र बस्नेत, कृषि तथा भूमिसुधार विभाग प्रमुखमा ठाकुर गैरे रहेका छन् ।
त्यस्तै, जलस्रोत तथा ऊर्जा विभाग प्रमुखमा प्रदीप नेपाल, न्याय तथा कानुन विभाग प्रमुखमा रघुजी पन्त, निर्वाचन विभाग प्रमुखमा राजेन्द्रप्रसाद पाण्डे, पर्यटन प्रवद्र्धन विभाग प्रमुखमा सूर्य थापा, प्रचार विभाग प्रमुखमा योगेश भट्टराई, पुस्तकालय तथा अभिलेख विभाग प्रमुखमा काशीनाथ अधिकारी, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग प्रमुखमा डा विजयकुमार पौडेल, युवा तथा खेलकुद विभाग प्रमुखमा कर्णबहादुर थापा, राजकीय मामिला विभाग प्रमुख भीमप्रसाद आचार्य छन् ।
राष्ट्रिय हित सुरक्षा प्रवद्र्धन विभाग प्रमुखमा तुलबहादुर गुरुङ, वन तथा वातावरण विभाग प्रमुखमा नागेन्द्र चौधरी, विज्ञान तथा प्रविधि विभाग प्रमुखमा डा वंशीधर मिश्र, शिक्षा तथा मानवस्रोत विभाग प्रमुखमा गंगालाल तुलाधर, संगठन विभाग प्रमुखमा पृथ्वीसुब्बा गुरुङ, सहरी विकास विभाग प्रमुखमा श्रीमाया थकाली, सहकारी तथा गरिबी निवारण विभाग प्रमुखमा पशुपति चौलागाइँ, श्रम तथा रोजगार विभाग प्रमुखमा प्रकाश ज्वाला, संघीय मामिला विभाग प्रमुखमा परशुमेघी गुरुङ, संसदीय विभाग प्रमुखमा सुवासचन्द्र नेम्वाङ, संस्कृति विभाग प्रमुखमा खगेन्द्र राई, सामाजिक सेवा विभाग प्रमुखमा डा. विजय सुब्बा, सामान्य प्रशासन विभाग प्रमुखमा ममता गिरी, स्थानीय विकास विभाग प्रमुखमा किरण गुरुङ र स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखमा सुजिता शाक्य रहेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्