
काठमाडौं,जेठ २२ । धान रोप्न तयार पारिएका खेतका ससाना आलीमाथि केही समय हिँडेपछि हामी बोसीगाउँको एउटा ठूलो इँटाभट्टामा पुग्यौं । कराँते प्रशिक्षक संघरत्न महर्जन हाम्रो अघिअघि थिए । उनै संघरत्नका चेला राजेन्द्र राईलाई खोज्दै हामी त्यहाँ पुगेका थियौं । अघिल्लो साता राजधानीमा सम्पन्न ‘दोस्रो सदस्यसचिव राष्ट्रिय कराँते प्रतियोगिताु मा राजेन्द्र ‘बेस्ट फाइटरु घोषित भएका थिए ।
काठमाडौं पश्चिम भेगमा पर्ने बोसीगाउँको एउटा सरकारी विद्यालयमा कक्षा चारमा अध्ययनरत १२ वर्षीय राजेन्द्र २० केजी तौल समूहमा स्वर्णसहित प्रतियोगिताकै उत्कृष्ट फाइटर घोषित भएका थिए ।
राजेन्द्रको सफलता यसकारणले पनि अर्थपूर्ण थियो कि उनले कराँते सिकेको वर्ष दिन पनि पुगेको छैन । तैपनि राजेन्द्रले उत्कृष्ट प्रदर्शन गर्दै त्यो प्रतियोगिताबाट धेरैको मन लोभ्याएका थिए । अनुभवी खेलाडीलाई फाइनलमा १०–३ अंकको फराकिलो अन्तरले पराजित गर्दै उनले स्वर्ण पदक जितेका थिए । शारीरिक रूपमा आफूभन्दा बलिष्ठ देखिएका प्रतिद्वन्द्वीविरुद्ध उनको खेल्ने तरिका प्रशंसायोग्य थियो ।
उनले उक्त खेलमा विपक्षी खेलाडीमाथि खेल कौशलले मात्र होइन, दिमागले पनि प्रहार गरेका थिए । उनको खेलबाट मोहित भएका हामी उनको घर खोज्दै बोसीगाउँ पुगेका थियौं, फलोअप स्टोरीका लागि । यसै क्रममा कराँते प्रशिक्षक संघरत्न हामीलाई एउटा इँटाभट्टातर्फ डोर्याउँदै थिए ।
हिलोबाट जोगिँदै २० मिनेट खेतको आलीमाथि हिँडेपछि काँचो इँटाले बनेको एककोठे र एकतले टहरो नजिक पुग्यौं । पुराना जस्तापाताले छाएको टहरोभित्र उज्यालो र हावा छिर्ने एउटामात्र ढोका छ, फलेक बिनाको । त्यही घर नजिकै गुन्द्रीमा तास खेल्नेको एक हुल छ । ती सबै दृश्यलाई एकै सटमा मस्तिष्कसम्म पुर्याइसकेका थियौं हामीले ।
त्यही खुला ढोकाभित्रबाट निस्किए गी (कराँतेको पोसाक) लगाएका राजेन्द्र । राजेन्द्रको घर त्यही रहेछ । गुरु संघरत्नलाई देखेपछि टाउको निहुराएर अभिवादन गरे उनले । राजेन्द्रका बारेमा प्रशिक्षक संघरत्नले हामीलाई पहिले नै सुनाएका थिए । तर आफ्नो आँखाले देखेका ती दृश्य प्रशिक्षक संघरत्नले भनेको भन्दा पनि बढी नै लागे ।
राजेन्द्र त्यही घरमा आफ्नो बाल्यकाल बिताउँदैछन् । उनी बिहानै उठ्छन्, केहीबेर इँटाभट्टामा बुबालाई सघाउँछन् । त्यसपछि झन्डै २० मिनेट पैदल यात्रामा रहेको श्री भैरवनाथ निम्न माध्यमिक विद्यालय धाउँछन् । चार कक्षामा अध्ययनरत उनी कक्षाका प्रथम विद्यार्थी रहेछन् । विद्यालयबाट घर फर्कन्छन् । केही समय इँटाभट्टामा काम गर्छन् । त्यसपछि फेरि उत्तिकै दुरी पार गरी कराँते सिक्न पुग्छन् ।
पढाइ र कराँतेप्रति राजेन्द्रको बराबर लगाव छ । उनले दुवै क्षेत्रमा आफूलाई अब्बल साबित गरिसकेका छन् । प्रतिभा र क्षमता हँदाहुँदै पनि यो अवस्थाबाट गुज्रनु उनको बाध्यता हो । राजेन्द्रका पिता दीपक राई त्यही इँटाभट्टामा काम गर्छन् भने आमा लक्ष्मी घरमै । उनका जेठा दाइ सन्तोष इँटा ढुवानी गर्ने ट्रकका सहचालक छन् । घरका माइँला छोरा राजेन्द्रलाई पढाइ र कराँते सगँसँगै अघि बढाउन मन छ । उनी भन्छन्, ‘पढ्न मन छ । कराँतेको राष्ट्रिय खेलाडी बन्ने सपना पालेको छु ।
तर उनको त्यो इच्छासामु धेरै बाधा छन् । पित दीपक आफू र जेठो छोरो सन्तोषको कमाइ घरखर्चमै ठिक्क हुने बताउँछन् । ‘छोराको महिनामा नौ हजार तलब छ । मेरो कहिले हुन्छ कहिले हुँदैनु, केही समयअघि तास खेल्ने समूहबाट छुट्टिएर हामीसामु आइपुगेका दीपकले भने, ‘पैसा कमाएर ल्यायो । बिहानबेलुका किनेर खाँदै सकिन्छ । छोरालाई पढ्न पठाउने र त्योभन्दा पनि खेल्न पठाउन खर्च जुटाउन मुस्किल छ । त्यसैले राजेन्द्रले पनि फुर्सदका बेला इँटाभट्टामा काम गर्नुपर्ने बाध्यता छ ।
दीपकले राजेन्द्रलाई खेलाडी बनोस् भनेर कराँते सिक्न पठाएका हैनन् । उनले न आफ्ना छोरा राजेन्द्रको खेल हेरेका छन्, न कराँते खेलबारे थाहा नै छ । छोराले अरूको कुटाइ नखाओस् भनेर उनले कराँते सिक्न पठाएका रहेछन् । ‘मलाई राजेन्द्रको खेलबारे थाहा छैन । जान्छ, खेल्छ, आउँछु, उनी भन्छन्, ‘ठूलो भएपछि अरूको कुटाइ नखाओस्–कुटेर आओस् भनेर खेल्न पठाएको हुँ ।’
दीपेन्द्र गुरुङ, अन्नपूर्ण पोष्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्