
-जितेन्द्र भण्डारी, ईमेज
पाँचथर, जेठ २२ । जंगली च्याउ खानु हुन्न भन्ने सबैलाई थाहा छ । तर पनि जंगलबाट ल्याइएका त्यही च्याउ घरमा ल्याएर खाँदा आफू मात्र हैन परिवारका सबै सदस्य मृत्युको मुखमा पुगिरहेका हुन्छन् ।
पछिल्लो समय पाँचथरमा पनि जंगली च्याउ खाएर मृत्यु हुनेहरुको संख्या बढ्दै गएको छ । तरकारीको रुपमा प्रयोग हुने च्याउ स्वादिष्ट परिकारको रुपमा लिइन्छ । स्वादिष्ट भएकै कारण सर्वसाधारणको आकर्षण समेत यसतर्फ बढेको छ ।
तर देशका अधिकांश भेगका सर्वसाधारणले जंगलमा खेर गईरहेको च्याउलाई तरकारीको रुपमा प्रयोग गर्दै आइरहेका छन् । जसले गर्दा मानिसको स्वास्थ्यमा समेत प्रभाव पर्दै गईरहेको छ । जंगलमा पाइने च्याउहरु हेर्दा सबै उस्तै खालको देखिने हुंदा अधिकांश सर्वसाधारण झुक्किने गरेका छन् । जसले गर्दा खान हुने च्याउको साथै बिषालु च्याउ समेत सर्वसाधारणले खाइरहेका छन् ।
पछिल्लो समय पांचथरको बिकट आङना, फिदिम र थर्पुका सर्वसाधारणले जंगली च्याउको बढी प्रयोग गर्दै आएको पाइएको छ । पांचथरमा जंगली च्याउ खाएर जेठको १० गते यता मात्र १० जनाले ज्यान गुमाईसकेका छन् । अझै ९ जना सिकिस्त अवस्थामा पूर्वका बिभिन्न अस्पतालहरुमा उपचार गराईरहेका छन् ।
परालमा, ढुंगामा, गोवरमा उम्रने च्याऊ पनि विषालु हुन सक्ने च्याऊ विज्ञहरु वताउँछन् । विषालु च्याऊ जहाँ पनि उम्रन सक्छ, त्यसको आकार प्रकार उस्ता उस्तै देखिने हुंदा त्यसलाई सर्वसाधरणले छुट्याएर खानुपर्ने जिल्ला कृषि विकास कार्यालय पाँचथरका वाली संरक्षण अधिकृत कफिल अहमद बताउँछन् ।
धेरै मानिस खान योग्य च्याऊ स्वादिलो र विषालु च्याऊ तितो टरो हन्छ भनि ठान्छन् । यो वुझाई गलत हो । धेरै पकाउँदैमा विषालुपना नष्ट हुन्छ भन्ने मान्यता पनि गलत हो । विषालु च्याऊँ खादा वाकवाकी हुने, रिगँटा लाग्ने र उपचार नभए ज्यानै पनि जान सक्छ । यसले कलेजोलाई असर गर्ने जिल्ला अस्पताल पाँचथरका प्रमुख डाक्टर पवनकुमार शाह बताउँछन् ।
नेपालमा विषालु च्याउका कारण वर्षेनी ३० जनाभन्दा बढीको मृत्यु हुने गरेको तथ्यांङ्क छ । २ हजार २५ थरीका च्याउका प्रजातिमध्ये एकसय १० प्रकारका खान योग्य च्याउ र एक सय प्रकारका विषालु च्याउ छन् ।
७३ प्रकारका औषधि जन्य च्याउ छन् । ती च्याउ चिनेको अवस्थामा मात्र खान हुन्छ । घरवरपर उम्रने च्याऊ पनि खान योग्य नहुने भएकोले विषालु होइन भन्ने निर्कोयल नभएसम्म च्याऊ खानु भन्दा नखानु नै बुद्धिमानी हुन्छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
प्रतिक्रिया दिनुहोस्