-नविन सिंह/ईमेज
जनकपुर । सीमान्तकृत र विपन्न वर्गको आवास निर्माण गर्न संघीय सरकारले प्रदेश २ मा सञ्चालन गरेको ‘जनता आवास कार्यक्रम’ असफल हुने अवस्थामा पुगेको छ । प्रदेशका अधिकांश सरकारी कार्यालय कर्मचारीविहीन हुँदा कार्यक्रम नै प्रभावित बनेको हो ।
संघीय सरकारले सीमान्तकृत र विपन्न वर्गको आवास निर्माण गर्न भन्दै प्रदेश–२ मा सञ्चालन गरेको जनता आवास कार्यक्रम कर्मचारी अभावकै कारण असफल हुने अवस्थामा पुगेको छ ।
आर्थिक वर्ष सकिन करिब २ महिना बाँकी रहँदासम्म निवेदन लिने काम मात्र गरिएको छ ।
समयमा काम अघि नबढाइए चालू आर्थिक वर्षका लागि छुट्याइएको बजेट फ्रिज हुने अवस्था आउने छ ।
कर्मचारी आभाव हुँदा हालसम्म निवेदन मात्र संकलन गरिएको धनुषाका जनता आवास कार्यक्रम संयोजक परमेश्वर साह बताउँछन् ।
धनुषास्थित जनता आवास शाखामा ओभरसियर र लेखापाल मात्र छन् ।
दुई जना कर्मचारीका भरमा काम अघि बढ्न नसकेको हो । धनुषाबाहेक अन्य जिल्लाको अवस्था पनि उस्तै छ ।
धनुषामा सबै पूर्ण आवास योजना बनाउने कार्यक्रम रहे पनि अन्य जिल्लामा पूर्ण र आंशिक आवास बनाउने कार्यक्रम सरकारले तय गरेको थियो ।
प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले कर्मचारी अभावले जनता आवास कार्यक्रम निस्प्रभावी हुने सम्भावना रहेको बताए ।
सरकारको जनता आवास कार्यक्रमअन्तर्गत डोम, हलखोर, मेस्तर र मुसहर जातिसहितका दलित समुदायको घर निर्माण गरिने छ ।








प्रतिक्रिया दिनुहोस्