२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


‘रातो किताब’ले लफडा, कांग्रेसको अवरोध, संसद बैठक आधाघन्टा स्थगित


0
Shares

काठमाडौं, जेठ २२ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका कारण व्यवस्थापिका–संसदको शनिबारको बैठक स्थगन भएको छ ।

सरकारले प्रस्तुत् गरेको आगामी आव २०७३/७४ को बजेटसम्बन्धी भाग १ रातो किताब वितरण नगरिएकामा आपत्ति जनाउँदै उक्त पुस्तक वितरण नभएसम्म सदन चल्न नदिने अडान लिइएपछि सभामुख ओनसरी घर्तीले आधाघन्टाका लागि बैठक स्थगन गरेकी हुन् ।

प्रमुख प्रतिपक्ष दलका सांसदले बैठकमा बजेटमा समावेश आयोजना र कार्यक्रम रातारात फेरबदल भएको आरोप लगाउँदै आ–आफनो स्थानबाट उठेर विरोध जनाएका थिए ।

बैठकमा कांग्रेसका वीरबहादुर बलायरले आगामी आर्थिक वर्षकोे विनियोजन बजेट र योजना समेटिएको भाग १ रातो किताब नबाँडिएकामा आपत्ति व्यक्त गर्दै रातो किताबमा रातारात किताब फेरबदल गर्ने काम भएको भनी आपत्ति व्यक्त गरेका थिए ।

सांसद बलायरको भनाइपछि योजना आयोगबाट पुस्तिका प्राप्त भएपनि केही कुरा सच्याउनुपर्ने भनेकाले समय लागेको सभामुखले बैठकमा जानकारी दिइन् ।

त्यसकोलगत्तै कांग्रेसका ईश्वरी न्यौपानेले बजेट वितरणपछि तत्कालै रातो किताब सांसदको हात–हातमा पुर्‍याउनुपर्नेमा त्यो व्यवस्था नभएको भनी सरकारको आलोचना गरेकी थिइन् ।

आफूहरु भोलिदेखि जिल्ला जानुपर्ने भएकाले जनताले कुन–कुन आयोजना बजेटमा समेटिएको भनी सोधेमा के उत्तर दिने भनी प्रश्न गर्दै उनले तत्काल किताब उपलब्ध गराउन माग गरिन् ।

सभामुखको रातो पुस्तक उपलब्ध गराउन केही समय लाग्ने आशयको जवाफ आएपनि प्रमुख प्रतिपक्षका सांसदले उठेर विरोध जनाइरहेका थिए ।

त्यसपछि सभामुखले बोल्न समय दिएपछि कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले अर्थमन्त्रीले बैठकमा सांसदलाई वितरण गर्छु भनेको रातो किताब बाँड्न नसक्ने हो भने कि माफी माग्नुपर्‍यो नत्र भए संसद चल्न नसक्ने चेतावनी दिए ।

प्रमुख सचेतक श्रेष्ठले संसदको बैठक एकघन्टालाई स्थगन गरेर भएपनि किताब उपलब्ध गराउन अडान राखेपछि सभामुखले आधाघन्टाका लागि सदन स्थगन गरिन् ।

मोर्चाका तर्फबाट ध्यानाकर्षण
यसअघि, बैठकको प्रारम्भमा मधेसी मोर्चाका लक्ष्मणलाल कर्णले लामो समयदेखि मधेसमा भइरहेको आन्दोलनलाई सम्बोधन गर्न सरकार र सदनले पनि कुनै चासो नराखेको गुनासो गरे ।

सदनको बैठकको कार्यसूचीमासमेत आफूहरुका लागि समय छुट्याइएको नदेखिएको बताउँदै उनले आफूहरु वार्ताको विरोधी नभएको बताए ।

अस्थाका आधारमा आन्दोलनमा रहेका आफ्ना केन्द्रीय नेतादेखि स्थानीय कार्यकर्तालाई थुनिएको बताउँदै सांसद कर्णले आफूहरुलाई संसदमा बस्ने चाहना हुँदाहुँदै पनि मधेसी, आदिवासी–जनजातिको माग सम्बोधन नगरेसम्म त्यो सम्भव नरहेको प्रतिक्रिया दिए ।

सरकारले आफ्ना माग र असन्तुष्टिलाई किन सुनिरहेको छैन भन्दै उनले सरकारले आन्दोलनरत् दलले उठाएका मागलाई सम्बोधन गर्न चासो नदेखाएसम्म संसदको बैठक बहिस्कार गर्ने घोषणा गर्दै बाहिरिए । रासस

फाइल फोटो