२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


राष्ट्रिय सहमतिका लागि म मन्त्री पद छोड्न तयार छु : रायमाझी


0
Shares

काठमाडौं, जेठ २२ । उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले राष्ट्रिय सहमतिको सरकार अहिलेको आवश्यकता रहेको बताएका छन् ।

रिपोर्टर्स् क्लब नेपालले शनिबार राजधानीमा आयोजना गरेको साक्षात्कारमा उपप्रधानमन्त्री रायमाझीले सबै दलमा समझदारी भएर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताए ।

उनले नेकपा माओवादी केन्द्र सहमतिका लागि सरकारको विकल्प खोज्नसमेत तयार रहेको स्पस्ट पारे ।

सरकार र प्रतिपक्ष दलबीच राष्ट्रिय सहमतिको आवश्यकता रहेको भन्दै राष्ट्रिय सहमति नभएसम्म यही सरकार जारी रहने बताए ।

उनले भने–‘राष्ट्रिय सहमतिका लागि म मन्त्री पद छोड्न तयार छु ।’

मन्त्री रायमाझीले मुलुकलाई ऊर्जामा आत्मनिर्भर बनाउन सरकारले ऊर्जादशक योजना ल्याएको बताउँदै भने–‘भूकम्प र नाकाबन्दीमा पनि ऊर्जाको क्षेत्रमा तीव्र काम गरेकाले विद्युत्भार कटौती चाँडो अन्त्य हुन्छ ।’

उनले विद्युत् चुहावट रोक्न सक्रिय भएर लागेको बताए ।

उनले आगामी दिनमा पाँच घन्टाभन्दा बढी विद्युत्भार कटौती नहुने भन्दै विवादमा परेका आयोजनालाई विवाद मेटाउने, आयोजनालाई तीव्रगतिमा अगाडि बढाउने काम सरकारले गरिरहेको स्पस्ट पारे ।

मन्त्री रायमाझीले बजेटमा ऊर्जालाई प्राथमिकता दिएको भन्दै आठओटा आयोजनालाई चाँडो निर्माण गर्न सरकार कटिबद्ध रहेको जानकारी दिए ।

उनले प्रशारणलाइन बनाउनसमेत सरकारले गुरुयोजना तयार गरिसकेको स्पस्ट पारे । रासस

फाइल फोटो