
कैलाली, जेठ २३ । कैलालीमा औषधी प्रयोग गरिएका आँप बिक्री भइरहेको पाइएको छ ।
नेपालमा प्रतिबन्धित ‘कारवाईड’ प्रयोग गरेर पकाईएको आँप कैलालीको धनगढी, अत्तरिया, टीकापुर लगायतका बजारमा बिक्री भएको पाइएको हो ।
औषधी प्रयोग गरिएको यस्तो आँप खाँदा छाला र पेटको रोग लाग्ने चिकित्सकहरु बताउँछन् । तर आँप बिक्रेताहरुले भने औषधी प्रयोग नगरे आँप नपाक्ने हुँदा आफुहरुले बाध्य भएर औषधी प्रयोग गर्ने गरेको बताएका छन् ।
क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले भने बजार अनुगमनको क्रममा विषादी प्रयोग गरेको नपाईएको बताएको छ । कार्यालयका प्रमुख उपेन्द्र रायले नियमित बजार अनुगमन गर्दा कुनै पनि विषादी प्रयोग गरेको नपाईएको दाबी गरे ।
तर, उपभोक्ताले भने कार्यालयले प्रभावकारी अनुगमन नगरेको आरोप लगाएका छन् ।
कारवाईड राखेको आँप कसरी चिन्ने ?
कारवाईड राखेको आँपको भेट्ना आसपास कडा हुन्छ तर तल्लो भाग गिलो हुन्छ । त्यसैगरी कारवाईड राखेर पकाएको आँपको भेट्नाको चारैतिर कालो दाग हुन्छ । कारवाईड राखेर पकाएको आँप पाक्दासमेत त्यसमा प्राकृतिक रङ हुँदैन, जो प्राकृतिक रुपमा पाकेको आँपमा हुन्छ । त्यसैगरी कारवाईड प्रयोग भएको आँप खाँदा बास्ना आउँदैन ।
प्रतिक्रिया दिनुहोस्