२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025


संविधान कार्यान्वयनका लागि स्थानीय निर्वाचन आवश्यक : देउवा


0
Shares

भक्तपुर, जेठ २४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचन आवश्यक रहेको बताएका छन् ।

सहिद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानको चौथो वार्षिकस्मृति सभालाई सोमबार भक्तपुरमा सम्बोधन गर्दै उनले स्थानीय निकायको निर्वाचन अत्यावश्यक रहेको बताएका हुन् ।

सभापति देउवाले भने–‘संविधान कार्यान्वयन सजिलो छैन । संविधान कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचन हुनुपर्छ । संसदीय निर्वाचन र राष्ट्रियसभाको निर्वाचन हुनुपर्छ, तबमात्र संविधानको सफल कार्यान्वयन हुन्छ ।’

‘ओली सरकारलाई संविधान कार्यान्वयनमा कुनै चिन्ता छैन, झुटा आश्वासन दिएर मात्रै हुँदैन’–देउवाले भने ।

ठूलो दलको हैसियतले संविधान कार्यान्वयनको जिम्मेवारी नेपाली कांग्रेसको काँधका आएको बताउँदै उनले भने–‘संविधान कार्यान्वयनमा सरकारले चासो दिएन । संविधान कार्यान्वयनको नेतृत्व लिन कांग्रेस तयार छ ।’

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले सरकारले ल्याएको बजेट, नीति तथा कार्यक्रम हास्यास्पद भएको टिप्पणी गर्दै बजेट आत्मघाती भएको बताए ।

कांग्रेसका अर्का केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले भने–‘कुरामात्रै गर्ने काम नगर्ने सपना बाँडेर बस्ने लल्लु सरकार भएकाले अहिले देश विकास नभएको हो ।’

त्यसअवसरमा सांसद रामेश्वर ढुंगेल, कांग्रेस भक्तपुर सभापति दुर्लभ थापालगायतले कांग्रेसले अब सरकारको नेतृत्वको भूमिका लिन अग्रसर हुनुपर्ने बताए ।

कार्यक्रममा मेधा मावि कक्षा १० की अनु नायबालाई रु १० हजार, मेधाकै कक्षा ८ का कृष्ण ध्वजूलाई रु नौ हजार, बागेश्वरी उमावि कक्षा ६ की सिर्जना ङाखुसी, देउजा गाउँ निमावि कक्षा ५ का रुपेश दुलाललाई जनही नगद रु पाँच हजारको छात्रवृत्ति पनि उनले प्रदान गरेका थिए ।

प्रतिष्ठानकी अध्यक्ष रजनी जोन्छेको सभापतित्वमा सम्पन्न कार्यक्रममा ‘सहिद, प्रजातन्त्र र शिक्षा’ शीर्षकको वक्तृत्वकलामा प्रथम हुने नर्थ इस्ट इंग्लिस स्कुलकी नितिशा आचार्य, दोस्रो हुने मोर्डन उमाविकी सोनिसा राउत, तृतीय हुने विनायक शिक्षा निकेतनकी अशोक नेपाल र सान्त्वना पुरस्कार पाउने मनकामना इंग्लिस स्कुलकी अनुजा खड्कालाई क्रमशः रु सात हजार, पाँच हजार, तीन हजार र दुई हजार नगद पुरस्कारत्र प्रदान गरिएको थियो । रासस

फाइल फोटो