
-कविराज घिमिरे, ईमेज
धनकुटा, जेठ २५ । एक दशक अघिसम्म ओझेलमा परेको धनकुटाको नमस्ते झरना अहिले पर्यटकको रोजाई बनेको छ । पूर्वाधार विकास गरी प्रचार प्रसारलाई तिव्रता दिइएसँगै नमस्ते झरनामा पर्यटक बढेका हुन् ।
धनकुटाको पर्यटकिय स्थल भेडेटार गाउं विकास समिति वडा नम्वर ३ सिम्सुवा खोलामा रहेको नमस्ते झरना पूर्वाञ्चलकै मुख्य पर्यटकिय गन्तव्य वन्दै गएको छ ।
कोशी राजमार्गबाट करिब दुई किलोमिटरको दुरीमा रहेको सो झरना हेर्न नेपालसंग सिमा जोडिएको भारतीय शहर सहित तराईका झापा, मोरङ्ग, सुनसरीलगायतका जिल्लाबाट पर्यटक आउने गरेका छन् ।
एक दशक अघिसम्म पर्यटकनै नपुग्ने गरेकोमा हाल बिदाको दिन दैनिक दुईहजार र अन्य दिन पाँच सयको हाराहारीमा पर्यटक झरनासम्म पुग्ने गरेका छन् ।
घुम्न आउने पर्यटकलाई सुरक्षित र सुबिधायुक्त बनाउन जिल्ला बिकास समिति, शहरी बिकास कार्यालय, पर्यटन कार्यालयको करीब ७० लाख रुपैयां तथा स्थानीयको श्रमदानगरी सो क्षेत्रको भौतिक अवस्था सुधारका लागि पुल, बाटो, शौचालय, रेलिङ्ग, चेन्जीङ्गरुम, गेट लगायतका पुर्बाधार निर्माण समेत गरिएको छ ।
झरनाको थप महत्व बढाउन क्यानोनिङ, पिकनिक स्पोर्ट, पोखरी निर्माण गर्ने तथा झरनाको स्रोत संरक्षण गर्ने लक्ष्य रहेको धनकुटाका स्थानीय विकास अधिकारी गणेश प्रसाद दाहाल बताउँछन् ।
झरनाकै कारण सो क्षेत्रमा आर्थिक चहलपहल समेत निकै बढेको छ । पांच बर्षको अबधिमा एक दर्जनको हाराहारीमा होटल खुलेका छन् । प्रत्येक होटलले दैनिक दशदेखि पचास हजार सम्म कारोवार गर्दै आएका छन् । पहिलेको तुलनामा होटलमा कारोवार फस्टाएपछि ब्यवसायी समेत निक्कै उत्साहित देखिएका छन् ।
धनकुटाको भेडेटार तथा नाम्जे पछि पर्यटकहरुले प्राकृतिक नमस्ते झरनालाई आफ्नो गन्तव्य बनाउन थालेका हुन् । करिव ६० मिटर अग्लो सो झरनाकै कारण सो क्षेत्रका सयौं सर्वसाधारणले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी समेत पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्