
मोरङ, जेठ २६ । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले दलहरु सरकार परिवर्तनको खेलमा लागे मुलुकका लागि दुर्भाग्य हुने बताएकी छन् ।
मंगलबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै नेत्री कोइरालाले वर्तमान सरकारलाई पूरै अवधि टिक्न दिनुपर्ने बताइन् ।
सरकार परिवर्तनको खेलमा लागे त्यो देश र जनताका लागि दुर्भाग्य हुने उनको कथन थियो । सरकार परिवर्तनले देशमा राजनीतिक स्थायित्व र विकास नहुने उनको भनाइ थियो ।
उनले भनिन्–‘अब सबै दल मिलेर मुलुकको आर्थिक विकासमा लाग्नुपर्छ ।’ अरु मुलुकमा सरकार पूरै अवधि टिक्ने गरेकै कारण विकास भएको उनको तर्क थियो ।
उनले कांग्रेस अब सरकारमा नगइ बलियो प्रतिपक्षकै भूमिकामा बस्नुपर्ने बताइन् ।
‘संसदीय शासन प्रणालीमा बलियो प्रतिपक्ष आवश्यक पर्छ’–कोइरालाले भनिन्–‘त्यो भूमिका कांग्रेसले निर्वाह गर्छ ।’
स्थिर सरकार नभएकै कारण मुलुकले आर्थिक उन्नति गर्न नसकेको उनको भनाइ थियो ।
सरकारले भ्रष्टाचार, महँगी, कालोबजारी नियन्त्रण र भूकम्पपछिको पुनःनिर्माणको काम गर्न नसकेको पूर्वउपप्रधानमन्त्रीसमेत रहेकी कोइरालाले आरोप लगाइन् ।
‘सरकारले काम गर्न सकेन भनेर ढाल्नेतिर लाग्नु हुँदैन’–उनले भनिन्–‘प्रतिपक्ष दलले जहिले पनि सरकारका कमी–कमजोरीलाई जनताबीच लिएर जानुपर्छ ।’ रासस
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्