२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


संवैधानिक राजसंस्था ब्यूँतिने छ: महामन्त्री लिङ्देन


0
Shares

पाँचथर, जेठ २६ । राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङ्देनले ढिलो चाँडो संवैधानिक राजसंस्था ब्यूँतिने बताएका छन् । पाँचथरको फिदिममा आज पार्टीको चौथो जिल्ला अधिवेशनमा लिङ्देनले जनताले राजसंस्था चाहेकाले ब्यूँतिने धारणा राखे ।

उनले सडक र सदनमा पार्टीले संवैधानिक राजसंस्था र सनातन हिन्दू राष्ट्रको पक्षमा आवाज उठाउँदै आएको उल्लेख गरे । अधिवेशनमा पार्टीका केन्द्रीय सदस्य अमीर मादेनले काँग्रेस, एमाले, माओवादीलगायतका पार्टीले जातजातिबीचमा भिडाएर सद्भाव खल्बल्याएको आरोप लगाए ।

अर्का केन्द्रीय सदस्य छविरमण सुवेदीले राप्रपा नेपालमात्रै छलकपट नगर्ने र जनताको वैचारिक आस्थाको धरोहर भएको बताए ।

अधिवेशनलाई काँग्रेसका सभापति नरेन्द्रकुमार केरुङ, एमाले अध्यक्ष राजकुमार भण्डारी, माओवादी नेता लालबहादुर गुरुङ, राप्रपा नेता शेरबहादुर मुखिया, सङ्घीय लिम्बुवान पार्टीका सचिवालय सदस्य चन्द्रराज आङ्देम्बे, राप्रपा नेपालका वरिष्ठ नेता कृष्णप्रसाद योङ्या, उपाध्यक्ष कमल चेम्जोङलगायतले सम्बोधन गर्दै शुभकामना व्यक्त गरेका थिए ।

अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै भोलि सकिने सो पार्टीले जनाएको छ । रासस