
धनकुटा, वैशाख २३ । शिक्षक नहुँदा धनकुटाका दुई सामुदायिक विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् ।
अस्थायी शिक्षकको समयावधि समाप्त भएको र स्थायी शिक्षकले विद्यालयप्रति चासो नदेखाउँदा साँगुरीगढी गाउँपालिका–२ बुढीमोरङस्थित गैरीगाउँमा रहेको जलकन्या प्राथमिक विद्यालय तथा सोही वडाको सिंहश्वरामा रहेको बुढासुब्बा प्राथमिक विद्यालय बन्द हुने अवस्थामा पुगेका हुन् ।
जलकन्या प्राविकी अस्थायी शिक्षिका कल्पना राईको गत फागुन मसान्तमा नियुक्तिको म्याद सकिएपछि सो विद्यालयमा अहिलेसम्म कुनै पनि शिक्षक पुगेका छैनन् । यो विद्यालयमा २५ जना बालबालिका अध्ययन गर्र्दै आएका थिए । अहिले उनीहरु राम माध्यमिक विद्यालय र बोर्डिङ स्कुलमा पढ्न जाने गरेका छन् ।
यता, बुढासुब्बा प्राथमिक विद्यालयमा कार्यरत दुई शिक्षकले अनिवार्य अवकाश पाएपछि एकजना कर्मचारीको भरमा सञ्चालनमा छ । शिक्षक नभएका कारण सो विद्यालयमा दुई विद्यार्थीमात्र भर्ना भएका छन् । गाउँमा २० भन्दा बढी बालबालिका छन् ।
नजिकैको विद्यालयमा शिक्षक नभएपछि उनीहरु एक घण्टा टाढाको राम माध्यमिक विद्यालय र बोर्डिङ स्कुलमा पढ्न जाने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्