Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


युएफा च्याम्पियन्स लिग फुटबलका लागि चेल्सीको स्थान सुरक्षित


0
Shares

काठमाडौं, वैशाख २३ । लण्डन क्लब चेल्सी अर्को सिजनको युएफा च्याम्पियन्स लिग फुटबलका लागि छनोट भएको छ । इंग्लिस प्रिमियर लिग फुटबलको गएराति भएको खेलमा वार्टफोर्डलाई ३–० ले पराजित गर्दै चेल्सीले च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो ।

अर्को लण्डन क्लब आर्सनलले ब्राईटनसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेपछि चेल्सी एक खेल अगावै च्याम्पियन्स लिगमा छानिएको हो ।

गएरातिको खेलपछि तेस्रो स्थानको चेल्सीको ३७ खेलबाट ७१ अंक छ । लिगमा अन्तिम चरणको खेल बाँकी रहँदा उसले पाँचौ स्थानको आर्सनलसँग चार अंकको अग्रता लिएको छ । टोटनह्याम ७० अंकसहित तालिकाको चौथो स्थानमा रहँदा पाँचौ स्थानको आर्सनलको ६७ अंक छ । 

चौथो स्थानमा रहँदै च्याम्पियन्स लिगमा पुग्ने आर्सनलको झिनो गणितीय सम्भावना बाँकी छ । गएराति हडर्सफिल्ड टाउनसँग बराबरीमा रोकिएको म्यानचेष्टर युनाईटेडको भने च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना सकिएको छ । प्रिमियर लिग फुटबलमा आजराति म्यान्चेस्टर सिटी र लेष्टर सिटी भिड्नेछन् ।