
कविराज घिमिरे-
धनकुटा, जेठ २८ । आर्थिक वर्षको अन्त्य हुनै लाग्दा धनकुटामा विकासे काम गर्न भ्याई–नभ्याई छ । यो बर्ष बजेट समयमै निकासा भए पनि योजना सम्झौता, प्राविधिकको अभाव र बन्द हड्ताल जस्ता कारणले विकास आयोजना समयमै सम्पन्न हुन नसकेका हुन् ।
आर्थिक बर्षका तीन चौमासिकमध्ये पहिलो र दोस्रो चौमासिकमा खासै अघि नबढ्ने विकास निर्माण कार्य तेस्रो चौमासिकमा धमाधम हुने गरेका छन् । जिल्ला प्राविधिक कार्यालय धनकुटा अन्तर्गत मात्रै शान्ति मन्त्रालयको ४४, संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गतका २६, जिल्ला विकास समिति अन्तर्गतका ३२, सांसद विकास कोष अन्तर्गतका ३० तथा अन्य विभिन्न २८ गरि कुल १ सय ७० योजना सञ्चालनमा रहेका छन् । तर ती योजना हेर्न सात जनामात्रै प्राविधिक हाल कार्यालयमा उपलब्ध छन् । १४ जना प्राविधिकको दरबन्दी रहेपनि दरबन्दी अनुसारको प्राविधिक नपठाईदा हाल सातजना मात्रै रहेका हुन् ।
सीमित कर्मचारीले योजनालाई आवश्यकता अनुसारको समय दिन नसकेको कार्यालयका प्राविधिक प्रदिप ढुंगाना बताउँछन् ।
विकास निर्माणका लागि समयमै बजेट आएपनि उपभोक्ता योजना सम्झौताको लागि समयमै नआएको, प्राविधिक अभाव तथा बन्द हड्तालका कारण सम्पूर्ण योजना अन्तिम समयमा निर्माण सुरु भएका हुन् । योजनालाई गुणस्तरीय र राम्रोसँग सम्पन्न गर्न प्राविधिक पटक पटक फिल्डमा पुग्नुपर्ने हुन्छ । तर, योजना बढि र प्राविधिक कम भएर सम्पूर्ण विकास निर्माणलाई पर्याप्त समय नसकिएकै कारण विकास निर्माण गुणस्तरीय गर्न नसकिने कार्यालय प्रमुख प्रकाश चौधरी बताउँछन् ।
विकास निर्माणलाई प्रभावकारी वनाउन उपभोक्ताले योजना सम्झौता समयमै गरि निर्माण सुरु गर्नुपर्ने, पर्याप्त कर्मचारी र बजेट भए गणस्तरीय काम गर्न सकिने कार्यालयका सूचना अधिकारी दिपनारायण झा बताउँछन् ।
अघिल्ला बर्षहरुमा आर्थिक बर्षको अन्त्यतिर मात्र बजेट निकास हुँदा समयमै र गुणस्तरीय बन्न नसकेका विकास निर्माण यो बर्ष भने समयमै बजेट निकास भएपनि अवस्था जस्ताको तस्तै छ । त्यसैले विकास निर्माणका कार्यलाई समयमै र गुणस्तरीय बनाउन उपभोक्ता तथा जिम्मेवार निकायले आफ्नो जिम्मेवारी बहन गरी समयमै काम अघि बढाउन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्