२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


‘किंबदन्ती’ बन्दै ७५० मेघावाटको पश्चिम सेती जलविद्युत् आयोजना, यस्तो छ नालिबेली


0
Shares

टेकराज अवस्थी (इमेज)
डडेल्धुरा, जेठ २८ । पश्चिम सेती जलविद्युत् परियोजना निर्माणमा अन्योल हुँदा यो परियोजना ‘एकादेशको कथा’ बन्नसक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

सुदूरपश्चिमको आर्थिक विकासको मेरुदन्डकोरुपमा लिइएको पश्चिम सेती जलविद्युत् आयोजनामा राज्यबाट ठोस पहल नभएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

यो आयोजना बने लोडसेडिङको मार खेपिरहेका जनतालाई अधिकतम् लाभ र राहत दिनेमात्र होइन वर्षौदेखि पिछडिएका, राज्यको मूलधारबाटसमेत उपेक्षित जनतालाई लाभ पुग्ने थियो ।

तर, आयोजनाको विषयमा कुनै टुंगो नलाग्दा आफूहरु दुःखित भएको डडेल्धुरा, लाटामाडौंका स्थानीय प्रेमबहादुर बलायर बताउँछन् ।

२०४० सालमा भू–बनोटको परीक्षण सुरु गरी विभिन्न समयमा विभिन्न कम्पनीहरुले काम गर्दै छोड्दै गरे ।

१९९४ देखि अष्ट्रेलियन कम्पनी ‘स्नोवी माउन्टेन हाइड्रोलिक स्किम’ले रोजगारी सिर्जना, स्थानीय सम्भावनाको उपयोगका साथै सेवा–सुविधा प्रबद्र्धन तथा संरक्षण, अर्थतन्त्रलाई बलियो बनाउन विद्युत् बिक्री र आम्दानीको माध्यम, आकर्षक पर्यटन गन्तव्य , अन्तर्राष्ट्रियस्तरको पूर्वाधार निर्माणसमेत गर्ने गरी जिम्मा पाएको थियो ।

उक्त कम्पनीले १६ वर्षसम्म पनि पश्चिम सेती बनाउन नसक्दा निराश बनेका सो क्षेत्रका स्थानीयबासीहरु ‘थ्री गर्जेज’सँगको प्रारम्भिक सम्झौतापछि पनि विश्वस्त हुन सकेका छैनन् ।

कार्यान्वयनको प्रक्रिया र पर्खाइ अत्यन्त निराशाजनक रहेको स्थानीय व्यवसायी गणेशदत्त भट्ट बताउँछन् ।

उनी भन्छन्–‘हल्लैहल्लाले ३० वर्ष गइसक्यो, हाम्रो त जुनी नै बित्ने भयो ।’

निर्माण का लागि उचित र उपयुक्त वातावरण सिर्जना गरी राजनीतिक नाफाघाटा नहेरि विवादरहित ढंगले काम सुरु गर्नुपर्ने माग स्थानीयको छ ।

डोटीका बृद्ध स्थानीय जयबहादुर कठायत यस्ता आयोजना कार्यान्वयनमा आए रोजगारीका लागि युवा विदेश जानु नपर्ने बताउँछन् ।

७५० मेघावाट जलविद्युत् उत्पादन र सिँचाइको पूर्वाधारसमेत निर्माण हुने भनी तीन दशकदेखि पश्चिम सेतीको चर्चा चलाउँदै आइएको छ ।

तर, राज्यको स्पस्ट नीति र विकास गर्ने इच्छाशक्ति नहुँदा यस क्षेत्रकै मुहार फेरिने आयोजना बन्न नसकेको उद्योग वाणिज्य संघ डोटीका अध्यक्ष नरेन्द्र खड्का बताउँछन् ।