
काठमाडौं, जेठ २९ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपालले आइतबार एक समारोहबीच दशरथ रंगशालामा औपचारिकरूपमा पार्टी घोषणा गर्ने भएको छ ।
आइतबार खुल्लासत्र सन्चालन हुनेछ भने सोमबार र मंगलबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बन्दसत्र चल्ने प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए ।
बन्दसत्रले पार्टीका थप पदाधिकारीकोसमेत टुंगो लगाउने छ ।
पार्टी घोषणका लागि नेता देवेन्द्र पौडेलको नेतृत्वमा मूल व्यवस्थापन समिति र १४ ओटा उपसमिति गठन गरिएको छ ।
घोषणा समारोहमा ७५ जिल्लाबाटै प्रतिनिधिले सहभागिता जनाउने र विदेशबाटसमेत प्रतिनिधि आउने उनले जानकारी दिए ।
प्रधानमन्त्री केपी ओलीसहित नेपालका क्रियाशील सबै दल, नेपालस्थित २५ देशका राजदूतलाईसमेत निम्तो गरिएको उक्त पार्टीले जनाएको छ ।
घोषणासभामा शुभकामना दिन भारतीय नेता केसी त्यागी, डिपी त्रिपाठी, बामपन्थी पत्रकार आनन्दस्वरुप वर्मालगायत काठमाडौं आइपुगेको देवकोटाले जानकारी दिए ।
कुपोन्डोल, बबरमहल, कालिमाटी र रत्नपार्कबाट सुरु हुने जुलुस अपराह्न १२ बजेभित्र रंगाशालामा प्रवेश गरिसक्नेछन् ।
जुलुसका कारण ट्राफिक व्यवस्थापनमा कठिनाइ नहोस् भनी पैदलमार्गको बाटोबाट जुलुस सन्चालन गरिने प्रवक्ता देवकोटाले बताए ।
‘प्रदर्शनमा आउनेमध्ये १ हजार ५०० प्रतिनिधिलाई बिरर्यानी खुवाउने नयाँशैली अपनाइने’ सो पार्टीले जनाएको छ ।
‘अबको निकास आर्थिक विकास’ भन्ने नारासहित एक लाखभन्दा बढीलाई एकैपटक संस्थापक सदस्य बनाउने तयारी सो पार्टीले गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस्