१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


गरिब पहिचान गर्न संकलित सूचीमा धनीकै नाम !


0
Shares

काठमाडौं, जेठ ३० । आफ्नो जग्गाको उब्जनीबाट मुस्किलले वर्षको ५ महिना खान पुग्ने भएपछि हुम्ला बरगाउँ ९ की नाङ्दर्मा लामाका पतिपत्नी ७ वर्षअघि सिमकोट सरे । बरगाउँमा भएको जग्गाले खानलाउन नपुगेपछि उनीहरू पुर्ख्यौली घर छोराबुहारीको जिम्मामा छोडेर हिँडेका हुन् । लामाको जोडी सदरमुकाममा पेट पाल्नका लागि निरन्तर कुल्ली काम गरिरहेको छ । तर जिल्ला विकास समितिले गत मंगलबार सार्वजनिक गरेको गरिब घर परिवारको सूचीमा उनको नाम छैन ।

गाउँकै आफ्ना लगी (माथिल्ला जातका मान्छे) को जग्गामा घर बनाएर बसेका श्रीनगर ७ का जर्म दमाईको आफ्ना नाममा एक हल पाखो जग्गा पनि छैन । त्यहाँ उब्जनी भएको अन्नले ७ जनाको जर्मको परिवारलाई दुई छाक खाँदा एक महिना पनि पुग्दैन । नियमित महिनाको ५ सय रूपैयाँ आम्दानी नभएका जर्मलाई पनि सरकारले सार्वजनिक गरेको गरिबको सूचीमा नपरेपछि साह्रै चित्त दुखेको छ ।

डाँडाफया १ की धनकौरा शाहीको आफ्नो खेतबारीमा मरीमरी काम गर्दा हुने उब्जनीले परिवार पाल्न मुस्किलले एक महिना पुग्छ । डाँडाफयादेखि सिमकोट बजारमा दाउरा बेचेर परिवार पाल्दै आएकी धनकौरालाई पनि गरिब घरपरिवार पहिचानले धनी नै देख्यो ।

यी प्रतिनिधि उदाहरण हुन् । मानव विकास सूचांकमा पुछारमा रहेको हुम्लामा सरकारले संकलन गरेको गरिबको सूचीमा गरिबभन्दा धनी र हुनेखाने कै नाम समावेश भएको छ ।

सरकारले देशमा विद्यमान गरिबीको संख्या घटाउने भन्दै २०६९ साल भदौ ५ गते गरिब घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा वितरण समन्वय बोर्ड गठन गरेर गरिब परिवारको लगत संकलन गर्ने काम सुरु गरेको थियो । –अन्नपूर्ण पोस्ट दैनिकबाट