२५ बैशाख २०८२, बिहिबार | Fri May 9 2025


अघिल्लो वर्षको तुलनामा साइबर अपराध दोब्बर बृद्धि, ९० प्रतिशत अपराध फेसबुकबाट


0
Shares

काठमाडौं, जेठ ३० । साइबर अपराध गर्नेको सङ्ख्या गत वर्षको तुलनामा दोब्बर बढेको छ । चालु आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदै अघिल्लो वर्षको तुलनामा साइबर अपराध दोब्बर बढेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार आव २०७१/०७२ का तुलनामा आव २०७२/०७३ मा अपराध बढेको देखिएको छ । सोमध्ये आव ०७१/०७२ मा तीन सय नौ उजुरी परेकामा आव ०७२/०७३ मा ६५० परेको छ जुन आव ०७१/०७२ का तुलनामा दोब्बरभन्दा बढी हो ।

महाशाखाका प्रहरी नायब उपरीक्षक पशुपतिकुमार रायले साइबर अपराधमध्ये सबैभन्दा धेरै फेसबुकमा हुने गरेको जानकारी दिए ।

उनले भने, ‘साइबर अपराधमा आएका उजुरीमध्ये करिब ९० प्रतिशत अपराध फेसबुकबाट हुने गरेको पाइएको छ ।’

फेसबुक, ट्विटर, बैंकिङ, अनलाइन, एटिएम लगायतको क्षेत्रमा बढी साइबर अपराध हुँदै आएको छ । चलचित्र प्रतिलिपि अधिकार हनन गर्ने एक, केटीका नाममा फेसबुक आइडी बनाएर पैसा माग्ने दुई र सरकारी वेभसाइट ह्याक गर्ने चार जनालाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

महाशाखामा परेको चालु आवमा हालसम्म परेका उजुरीमध्ये २० उजुरीमा मुद्दा चलाइसकिएको रायले बताए ।

महाशाखाका प्रवक्ता सहकुल थापाले दैनिक सातदेखि दश उजुरी महाशाखामा पर्ने गरेको जानकारी दिँदै साइबर अपराधसम्बन्धी अनुसन्धान गर्ने प्राविधिक एकाइको आवश्यकता अत्यन्त जरुरी रहेको बताए । (रासस)