
कावासोती, जेठ ३१ । सेक्टर वन कार्यालय अरुणखोलाले बँदेल र रतुवा मृगको सिकार गर्ने एक सिकारीसहित तीन थान भरुवा बन्दुक पक्राउ गरेको छ ।
गस्तीमा रहेको वन रक्षकको टोलीमाथि सिकारीले दुम्किबास र अरुणखोलाको बीच जङ्गलमा आक्रमण गरेका थिए ।
दश जनाको सङ्ख्यामा रहेका सिकारीबाट वन रक्षकको टोलीले तीन थान भरुवा बन्दुक, एउटा बँदेल, एउटा रतुवा मृग मृत अवस्थामा बरामद गरेको सहायक वन अधिकृत अरुणकुमार मिश्रले बताए ।
बेणिमनीपुर–८ का चित्रबहादुर सुनारी बन्दुकसहित पक्राउ परेका छन् भने नौ जना फरार रहेका छन् । उनीहरुको व्यापक खोजी भइरहेको वन कार्यालयले जनाएको छ । पक्राउ परेका सुनारीलाई दुर्लभ प्रजातिको रतुवा मरेको हुँदा जिल्ला अदालतमा मुद्दा दायरा गर्ने सहायक वन अधिकृत मिश्रले बताए ।
नयाँ बेलहानी गाविस–८ राष्ट्रिय वन क्षेत्रमा सिकारी पुगेको सुराकी पाएपछि वन क्षेत्रमा पुगेको वन रक्षकहरुको टोलीमाथि सिकारीले गोली हानेपछि दुवै पक्षबाट शनिबार बेलुका फायरिङ भएको सेक्टर वन कार्यालय अरुणखोलाका सहायक वन अधिकृत उनले जानकारी दिए ।
सेक्टर वन कार्यालय अरुणखोलाका सहायक वन अधिकृत रवीन्द्रकुमार जिसीको नेतृत्वमा २१ जनाको सशस्त्र वन रक्षक टोली र सिकारीबीच गोली हानाहान भएको थियो । सिकारीले वन रक्षक टोली देख्नेबित्तिकै चार राउन्ड गोली हानेको सहायक वन अधिकृत मिश्रले बताए ।
वन रक्षकको टोलीले पाँच राउन्ड जवाफमा गोली हानेको थियो । फरार रहेका सिकारीको खोजीकार्य भइरहेको जिल्ला वन कार्यालय नवलपरासीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्