३१ श्रावण २०८२, शनिबार | Sun Aug 17 2025


‘नीति तथा कार्यक्रम स्वागतयोग्य’


0
Shares

काठमाडौं, वैशाख २२ । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रमप्रति मिश्रित प्रतिक्रिया आएको छ ।

प्रतिपक्षीले नीति तथा कार्यक्रमलाई ‘कोरा सपनाको पुलिन्दा’ भएको टिप्पणी गरेका छन् ।

उनीहरुले नीति तथा कार्यक्रममा कुनै नौलोपन नरहेको जिकिरसमेत गरेका छन् ।

सत्तारुढ दल नेकपाका सांसदहरुले भने नीति तथा कार्यक्रम जनअपेक्षाअनुसार आएको र यसले ‘समृद्ध नेपाल, सुखी नेपाली’को सरकारी लक्ष्य साकार पार्ने दाबी गरेका छन् ।

सुन्नका लागिमात्रै राम्रो : बाबुराम

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नीति तथा कार्यक्रम सुन्नका लागिमात्रै राम्रो रहेको बताए ।

नीति तथा कार्यक्रममा केही नयाँ विषय आएपनि कार्यान्वयन गर्नेसम्बन्धी स्पस्ट धारणा नआएको उनको भनाइ छ ।

पूर्वअर्थमन्त्री एवं नेकपा सांसद सुरेन्द्र पाण्डेले अब बजेट कस्तो आउँछ भन्नेमा नीति तथा कार्यक्रम निर्भर रहने बताए ।

स्वागतयोग्य

निजी क्षेत्रले भने नीति तथा कार्यक्रम महत्वाकांक्षी भएपनि स्वागतयोग्य रहेको बताएको छ ।

नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्मा सरकारले ल्याएको नीति तथा कार्यक्रम स्वागतयोग्य रहेको भन्दै कार्यान्वयन पक्ष बलियो बनाउनुपर्ने उनको भनाइ छ ।

सरकारले नीति तथा कार्यक्रममार्फत् आगामी आर्थिक वर्षलाई इतिहासकै तीव्र विकासको वर्ष बनाउने घोषणा गरेको छ ।

सरकारले नीति तथा कार्यक्रममा मानवीय क्षमता विकास, पूर्वाधार निर्माण, उद्यमशीलता र रोजगारी वृद्धि, राष्ट्रिय सम्पत्ति सिर्जना, असमानता र गरिबी न्यूनीकरण, दीगो विकास, पर्यावरणीय संरक्षण, शान्ति, सद्भाव, सुव्यवस्था र विधिको शासनको प्रत्याभूतिलाई प्राथमिकतामा राखिएको जनाएको छ ।

सरकारले नीति तथा कार्यक्रममा नै सामाजिक सुरक्षा भत्ता वृद्धिको घोषणासमेत गरिएको छ ।