२७ बैशाख २०८२, शनिबार | Sun May 11 2025


उपाधि दाबेदार पोर्चुगल बराबरीमै रोकियो


0
Shares

पेरिस, असार १ । युरो कप फुटबलको उपाधि दावेदार पोर्चुगललाई आईसल्याण्डले बराबरीमा रोकेको छ ।

फ्रान्समा जारी प्रतियोगिताअन्तर्गत गएराति भएको समुह एफ को खेलमा आईसल्याण्डले पोर्चुगललाई १–१ गोलको बराबरीमा रोकेको हो ।

खेलको ३१ औं मिनेटमा पोर्चुगलका नानीले पहिलो गोल गरे । तर दोस्रो हाफको ५० औं मिनेटका आईसल्याण्डका बिर्की बार्नासनले एक गोल फर्काउँदै खेल बराबरी गरेका हुन् ।

यो बराबरीपछि पहिलो पटक युरोकप फुटबल खेलिरहेको आईसल्याण्डले प्रतियोगिताको पहिलो खेलबाटै १ अंक जोडेको छ ।

यही समुहको अर्को खेलमा हंगेरीले अष्ट्रियालाई २–० ले हरायो । खेलमा हंगेरीका लागि एडम जालाई र जोल्टन स्टिबरले एक–एक गोल गरे ।

अष्ट्रियाका अलेक्जेन्डर ड्रागोभिचले दोहोरो पहेंलो कार्ड खाएपछि टोली १० जनामा समेटिएको थियो ।

युरोकप फुटबलमा आजबाट दोस्रो चरणका खेलहरु सुरु हुँदैछन् । आज बेलुकी नेपाली समय अनुसार पौने ७ बजे हुने खेलमा रुस र स्लोभाकिया भिड्नेछन् । यसैगरी बेलुकी पौने १० बजे स्विट्जरल्याण्डले रोमानियासँग खेल्दा राती पौने १ बजे आयोजक फ्रान्सले अल्बानियासँग खेल्नेछ ।