सञ्जय कार्की (इमेज)
रौतहट, वैशाख २१ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीचको मनमुटावका कारण रौतहटको यमुनामाई गाउँपाालिकामा विकासका काममा अवरोध भएको छ ।
बजेट बाँडफाँटको विषयमा लामो समयदेखि एकार्काबीच आरोप–प्रत्यारोप चलिरहेका कारण विकासले अपेक्षित गति लिन नसकेको हो ।
लामो समय नेतृत्वविहीन बनेका गाउँ तथा नगरपालिकामा जनप्रतिनिधि आइसकेका छन् । तर, कतिपय ठाउँका जनप्रतिनिधि पदीय जिम्मेवारीभन्दा आफ्नै स्वार्थमा केन्द्रित हुँदा जनतामा निराशा चुलिन थालेको छ ।
त्यसैमध्येको एक हो, रौतहटको यमुनामाई गाउँपालिका । जहाँ विगत केही महिनादेखि गाउँपालिका अध्यक्ष प्रकाश मुखिया र उपाध्यक्ष गीतादेवी साहबीचको वैमनस्यताका कारण विकास निर्माणमा अवरोध भइरहको छ ।
बजेट बाँडफाँटको विषयमा कुरा नमिल्दा एकार्कालाई आरोप–प्रत्यारोप गरेरै आफूलाई चोख्याउने खेलमा जनप्रतिनिधि लागेका छन् ।
गाउँपालिकाको कुल दुई करोड ३२ लाख रुपैयाँको बजेट योजना छनोटबिनै विनियोजन गरिएकाले पनि विवाद निम्तिएको हो ।
गाउँपालिका अध्यक्ष प्रकाश मुखिया भने उपाध्यक्षबाट हरेक काममा अवरोधमात्रै भएको आरोप लगाउँछन् ।
आर्थिक वर्ष सकिन लागे पनि अधिकांश वडाले अझै योजना छनोट गर्न सकेका छैनन् ।
गाउँपालिकाभित्र विकासका गतिविधि हुन नसके पनि अध्यक्षका लागि चारपांग्रे गाडी खरिद गरिसकिएको छ । त्यस्तै, पाँच वडाध्यक्षहरुका लागि मोटरसाइकल खरिद भइसकेको छ ।
विकासका काममा चासो नदेखाउने तर आफूहरुले भने पर्याप्त सेवा–सुविधा भोग गर्ने गरेका कारण जनताबाट आलोचना भइरहेको छ ।
उता, गाउँपालिकाका उपाध्यक्ष गीतादेवी साहको भने अध्यक्षले आफूलाई अशोभनीय व्यवहार गर्ने गरेको र संविधानप्रदत्त अधिकारबाटसमेत बन्जित गरेको आरोप छ ।
अर्कोतिर गाउँपालिकाका प्रवक्ता नन्दलाल यादव भने अध्यक्ष र उपाध्यक्षबीच ६०/४० को भागबन्डा नमिलेका कारण विवाद भएको बताउँछन् ।








प्रतिक्रिया दिनुहोस्