२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


सहाराविहीन वृद्धवृद्धाको आश्रयस्थल (भिडियो)


0
Shares

ध्रुवसागर शर्मा (इमेज)

म्याग्दी, वैशाख २१ । घर–परिवारबाट उपेक्षित बनेर सहाराविहीन भएका वृद्धवृद्धाका लागि म्याग्दीको गलेश्वरधाम सजिलो आश्रयस्थल बनेको छ ।

पवित्र तीर्थस्थलसमेत मानिने यस धामको ज्येष्ठ नागरिक आश्रममा निःशुल्क आवासीय सेवा–सुविधा पाउँदा वृद्धवृद्धा निकै आभारी बनेका छन् ।

प्राणजत्तिकै माया–ममता दिएर हुर्काएका सन्तानले जब बुढेसकाल वा असक्त अवस्थामा अपहेलना गर्दछन्, त्यतिबेला जुनसुकै बाबु–आमाको मन बेस्सरी कुडिन्छ ।

छोरा–छोरीको रेखदेख र स्याहार–सुसारमा बुढ्यौली जीवन कटाउने मीठो अपेक्षामा रहेका बुवा–आमाले सबैभन्दा गहिरो दुःखको अनुभूति त्यतिबेला गर्छन्, जतिबेला आफ्नै सन्तानबाट उपेक्षित र बोझ बनेर बस्नुपर्छ ।

माता–पितालाई देवतासरह मान्नुपर्छ भन्ने संस्कार सिकाउने हाम्रो आदर्श वाक्य रहेपनि कैयौं वृद्धवृद्धा आश्रमको छहारीमा शरण पर्नुपर्ने बाध्यता छ ।

वि.सं. २०६७ सालदेखि म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा सन्चालन हुँदै आएको गलेश्वर आश्रममा अहिले ५५ जना वृद्धावृद्धहरु निःशुल्क आवासीय सुविधासहित सहारा लिइरहेका छन् ।

उनीहरुले वृद्धाश्रममा खान, बस्न त पाउँछन् तर घर–परिवारको झल्कोले रमाउन भने सकेका हुँदैनन् ।

जतिसुकै उपेक्षा गरे पनि छोरा–छोरीप्रतिको मोह र ममताले भने उनीहरुलाई सधैंभरि लखेटिरहन्छ ।

दाताहरुको सहयोग र गलेश्वर शिवालय मन्दिरमा चढेको भेटीबाट सन्चालन हुँदै आएको गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रममा अहिले गन्डकी प्रदेशका सबै जिल्लाहरुका साथै प्यूठान र सल्यानसम्मका ज्येष्ठ नागरिकहरुले आश्रम लिएका छन् ।

आश्रममा मासिक चार लाख रुपैयाँ बराबरको खर्च हुने गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यवाहक अध्यक्ष बमबहादुर पुन बताउँछन् ।

बिहान ९ बजे खाना खाने घन्टी बजेसँगै वृद्धवृद्धाहरु आफ्नो कोठाबाट थाल र कचौर लिएर भान्सामा पुग्छन् । बिहानको खाना खाएपछि दिनभर भजन–कीर्तन गर्दै सुख–दुःखका कुरा साट्दै दिन बिताउँछन् । यसरी नै उनीहरुको दैनिकी बितिरहेको छ ।

आफन्तबाट तिरस्कृत उनीहरुले जतिसुकै ठूलो भौतिक सुविधा पाएपनि ममताको न्यानोपनको भने सधैंभरि अभाव महसुस गरिरहेका हुन्छन् ।

भिडियो हेर्नुहोस्