
काठमाडौं, असार १ । २०७३ वैशाख महिनामा उपभोक्ता मुद्रास्फीति १० प्रतिशत पुगेको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दशौं महिनासम्मको आर्थिक स्थीतिमा मूल्यबृद्धि पुन उकालो लागेको देखिएको हो ।
२०७२ पुस महिनामा १२.१ प्रतिशतको उच्चतम बिन्दूमा पुगेको मुद्रास्फीति त्यसपछिका महिनाहरूमा क्रमिकरूपमा घट्दोक्रममा रहेको थियो । चैतमा मुद्रास्फीति ९ दशमलव ७ प्रतिशतमा झरेको थियो ।
दक्षिणी सीमाका भन्सार नाकाहरूको अवरोध सहज भइ इन्धनलगायत उपभोग्य वस्तुहरूको आपूर्ति सामान्यीकरण हुँदै गएपनि घरभाडा तथा शिक्षासम्बन्धी खर्चमा बृद्धि हुन गएकोले उपभोक्ता मुद्रास्फीति पुनः केही बढ्न गएको राष्ट्र बैंकको भनाइ छ ।
यस अवधिको उपलव्ध तथ्यांकलाई विश्लेषण गर्दा मुलुकको आर्थिक परिदृश्यमा भने क्रमिक सुधार हुँदै आएको पनि राष्ट्र बैंकले जनाएको छ ।
मुलुकको दक्षिणी भन्सार नाकाहरूमा भएको अवरोध हटेसँगै बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह, सरकारी राजस्व संकलन एवं पुँजीगत खर्चमा भएको बृद्धिबाट आर्थिक क्रियाकलाप सुधारोन्मुख रहेको केन्द्रीय बैंकको विश्वास छ ।
पछिल्लो समयमा निर्माणजन्यलगायत अन्य आर्थिक गतिविधिमा देखिएको सुधारले आगामी आर्थिक वर्षको लागि तय गरिएको ६.५ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य प्राप्ति त्यति चुनौतीपूर्ण नरहने पनि राष्ट्र बैंकले जनाएको छ ।
आयात्मा कमी आएको भएपनि राजस्व संकलनको साप्ताहिक विवरणलाई आधारमान्दा चालु आर्थिक वर्षको लागि लक्षित रु. ४७५ अर्बभन्दा बढी राजस्व संकलन हुने पनि राष्ट्र बैंकको अनुमान छ ।
बाह्य क्षेत्रतर्फ निजी क्षेत्रको विप्रेषण आप्रवाह बृद्धिदर भने निरन्तर घट्दै गएको छ । यसले आगामी दिनमा बाह्य क्षेत्र स्थायित्वमा चुनौती थपिने आशंका पैदा भएको छ ।
विपे्रषण आप्रवाहलाई प्रत्यक्ष प्रभाव पार्ने वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्यामा भने कमी आएको राष्ट्र बैंकको तथ्यांक छ ।
अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या आर्थिक वर्ष २०७२/७३ को १० महिनामा गत वर्षको सोही अवधिको तुलनामा २२.२ प्रतिशतले घटेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८.९ प्रतिशतले बढेको थियो ।
प्रतिक्रिया दिनुहोस्