काठमाडौं, वैशाख २१ । सरकारले आगामी पुसभित्रै १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता आयोजना गर्ने जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुक्रबार संघीय संसदमार्फत् सार्वजनिक गरिएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आवश्यक भौतिक पूर्वाधार पूरा गरी साग आयोजना गरिने जनाइएको हो ।
खेलकुदमा नयाँ कार्यक्रम ल्याउन नसकेको सरकारले पुरानै योजनालाई निरन्तरता दिने बताएको छ ।
नीति तथा कार्यक्रममा काठमाडौंको मूलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट मैदान आगामी दुई वर्षभित्र सन्चालनमा ल्याइने उल्लेख छ ।
त्यसैगरी, निजी क्षेत्रको अग्रसरतामा हुने क्रिकेटलगायतका खेल मैदानहरूको निर्माणकार्यलाई सरकारले प्रोत्साहन गर्ने बताइएको छ ।
क्रिकेट खेलको विकासका लागि क्रिकेट एकेडेमी स्थापना गरिने उल्लेख छ ।
त्यस्तै, काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रियस्तरको राष्ट्रिय खेलकुद परिसर निर्माण गर्न आगामी आर्थिक वर्षमा विस्तृत् परियोजना प्रतिवेदन तयार गरिने बताइएको छ ।
सबै प्रदेशमा सुविधा सम्पन्न रंगशाला र स्थानीय तहमा दीर्घकालीन महत्वका खेलग्रामको निर्माण, विकास र विस्तार गर्ने कार्यलाई तीव्रता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।








प्रतिक्रिया दिनुहोस्